कस्तो छ चलचित्र ‘रोल नं १’ को गीत ‘म्याग्दी रुमाले’ ?

 

काठमाडौं । चलचित्र ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक भएको छ । निर्माणपक्षले लचित्रको लोकलयको गीत सार्वजनिक गरेको हो ।

गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ । सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत प्रशान्त शिवाकोटी स्वयंको छ । प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले सहयोग गरेका छन् ।

गीतमा मन परेको मान्छेलाई गरेको प्रेम प्रस्ताव र त्यसमा युवतीले दिएको जवाफ छ । युवकले सँगै जीवन विताउन गर्ने प्रस्ताव र युवतीले हतार नगर्न गरेको आग्रह गीतमा समावेश छ । युवतीलाई फकाउन युवकले गर्ने प्रयास तथा युवतीले केटाको पारिवारिक अवस्थाबारे गरेको खोजीनिती गीतमा सुन्न सकिन्छ । लाखौँको प्रेम हतारमा नलगाउन युवतीले गरेको आग्रहसँगै गीत सकिन्छ । सवाल–जवाफ शैलीमा तयार पारिएको गीत श्रवणीय बनेको छ ।

भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्मालगायतको अभिनय छ । गीतको भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् । विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् । चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।

गीतको लिंक:

 

Nepal life insuranceimagesimagesimages