विश्वव्यापी मूल्य वृद्धि र क्षेत्रीय दबाबका बीच सिरियामा इन्धनको मूल्यमा उच्च वृद्धि

 

सिरियाली सरकारले इन्धन र खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गर्ने घोषणा गरेको छ । विश्वव्यापी रूपमा तेलको मूल्यमा भएको वृद्धि, ढुवानी लागतमा आएको बढोत्तरी र ऊर्जा क्षेत्रमा परेको क्षेत्रीय दबाबलाई कारण देखाउँदै बिहीबार नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो ।

सिरियन पेट्रोलियम कम्पनीकाअनुसार नयाँ दर अनुसार डिजेलको मूल्य प्रतिलिटर ७५ अमेरिकी सेन्टबाट बढेर ८८ सेन्ट पुगेको छ । त्यस्तै ९०–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर ८५ सेन्टबाट वृद्धि भई १.१० डलर कायम गरिएको छ भने ९५–अक्टेन पेट्रोलको मूल्य ९१ सेन्टबाट बढेर १.१५ डलर पुगेको छ ।

इन्धनसँगै खाना पकाउने ग्यासको मूल्यमा पनि उल्लेख्य वृद्धि गरिएको छ । घरायसी प्रयोजनका लागि प्रयोग हुने ग्यास सिलिन्डरको मूल्य १०.५० डलरबाट बढेर १२.५० डलर पुगेको छ । साथै, औद्योगिक ग्यास सिलिन्डरको मूल्य प्रतिसिलिन्डर १६.८० डलरबाट बढाएर २० डलर कायम गरिएको छ । सिरियाली सरकारी सञ्चार माध्यमकाअनुसार पेट्रोलियम कम्पनीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रमका बीच इन्धन आपूर्तिको दिगोपन सुनिश्चित गर्न र सेवालाई निरन्तरता दिन यो कदम चाल्नुपरेको स्पष्ट पारेको छ ।

लामो समयदेखि जारी गृहयुद्ध, आर्थिक संकट र अन्तर्राष्ट्रिय प्रतिवन्धहरूका कारण सिरियाले निरन्तर इन्धन अभाव र ऊर्जा संकटको सामना गर्दै आएको छ । पछिल्लो मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुहरूको लागत बढ्ने र यसले सर्वसाधारण तथा उद्योगी व्यवसायीहरूलाई थप आर्थिक भार पर्ने देखिएको छ ।

 

Nepal life insuranceimagesimagesimages