दाङ – दाङको लमहीमा बिहीबार जन्ती बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । चैलाही ३ देउपुरबाट दुलही लिएर चैलाही ७ भैसकुर्मातर्फ गइरहेको ना३ख १५०८ नम्बरको जन्ती बस चैलाही-२ लमहीमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा चैलाही ७ भैंसकुर्मा निवासी २० वर्षीय शिवनारायण चौधरी, चैलही ३ देउपुरका १९ वर्षीय विनोद चौधरी र चैलाही ७ का २७ वर्षीय महेश चौधरी रहेका छन् । एक जनाको नाम अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुई जनाको घटनास्थलमै, एकजनको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा कुसुममा र एकजनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
घाइतेहरूलाई लमहीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख महेश गौतमले जानकारी दिए । लमहीको बसपार्कनजिकै बस दुर्घटना भएको थियो । – कान्तिपुर



