


कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका संविधानको भावना र सरकारको गतिसँगै अघि बढ्न तयार रहेको बताउनुभएको छ ।
कानून दिवसको अवसरमा आयोजितसमारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


केही समयअघि सभामुखले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले न्यायपालिकाको कार्यक्षमता स्रोत र साधनको उपलब्धतामा निर्भर रहने उल्लेख गर्नुभयो । उहाँले न्यायपालिका हाल पुनरुत्थान र सुधारको एजेण्डासहित अघि बढिरहेको जानकारी दिनुभयो । विगतका कठिन र जटिल परिस्थितिका बाबजुद न्यायपालिकाले आफ्नो स्वतन्त्र अस्तित्व जोगाउँदै आएको बताउनु भयो । उहाँले सेवाग्राहीको धैर्यता र सरोकारवाला निकायहरूको सहयोगको प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, सभामुखज्यूले न्यायपालिका सरकारको स्पिड र स्पिरिटमा चल्नसक्छ कि सक्दैन भनी प्रश्न उठाउनुभएको थियो । म भन्न चाहन्छु, न्यायपालिका संविधानको स्पिरिट र सरकारको स्पिडमा चल्न सक्छ, तर त्यसका लागि न्यायपालिकालाई पर्याप्त स्रोत र साधनले सम्पन्न बनाइनुपर्छ ।’
संविधानको इमानदार कार्यान्वयनले मात्र नागरिकलाई परिवर्तनको अनुभूति गराउन सक्ने उहाँको तर्क छ ।



