संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थालेको महामन्त्री सिंहको दाबी

 

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थालेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा आयोजित संविधान संशोधन बहस कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधन राष्ट्रिय आवश्यकताभन्दा पनि शासक वर्गको निहित स्वार्थ र सत्ता टिकाइराख्ने दाउपेचबाट प्रेरित रहेको आरोप लगाउनुभएको हो । महामन्त्री सिंहले देशको ऐतिहासिक आवश्यकता र जनताको हितका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै अहिलेको सरकारले फासिस्ट स्वरूपलाई संस्थागत गर्न संशोधनको बाटो रोजेको दाबी गर्नुभयो । संविधान संशोधन नेपालको आन्तरिक विषय भएपनि यस प्रक्रियामा विदेशी शक्तिहरूको चलखेल देखिनु अवाञ्छित र गम्भीर रहेको उहाँको ठहर छ ।

नेपालको आन्तरिक मामिलामा हुने वैदेशिक हस्तक्षेपले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठाएको सिंहले उल्लेख गर्नुभयो । करिब एक शताब्दी लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिहरूलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशको राष्ट्रिय आवश्यकताअनुसार संविधानको निर्माण वा संशोधन हुनुपर्ने हो, तर कतिपय अवस्थामा शासक वर्गले आफ्ना स्वार्थ अनुकूल कानुन निर्माण गर्ने गर्छन् । अहिलेको सरकारले फासिस्ट रूप लिँदै गएको छ र त्यसैलाई पूर्णता दिन संविधान संशोधन गर्न थालिएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।’

प्राप्त लोकतान्त्रिक र वामपन्थी उपलब्धिहरूको रक्षाका लागि देशका सबै प्रजातान्त्रिक र वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने समय आएको उहाँको भनाइ छ ।

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु