ज्येष्ठ नागरिकका ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौतीः ईश्वर पोखरेल

 

नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताउनुभएको छ ।  मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले बदलिँदो समयमा नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताउनु भयो । ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने दायित्व सबै पक्षको भएको उहाँले बताउनु भयो ।

पुराना पुस्ताका ज्ञान र विचारलाई नयाँ पुस्तामा लैजान प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई छ । संघीय सरकार, स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिष्ठानले व्यवसायिक तथा प्राविधिक शिक्षाको प्रवद्र्धनसँगै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्नेछ ।

नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई प्रदेश र जिल्लास्तरमा पनि गठन गर्ने जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनमा योगदान पु¥याएका व्यक्तित्वहरूको विचार र योगदानलाई नयाँ पुस्तासँग लैजाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिकहरु समाजका सम्पत्ति हुन, ज्ञानका स्रोत हुन् । ज्येष्ठ नागरिकहरुलाई यो परिवर्तित समाजमा जुन स्थिति झेन्नुपर्दैछ, त्यो बदल्नुपर्छ । ज्येष्ठ नागरिक भनेको समाजका ज्ञानको स्रोत र सम्पती हुन । उनीहरुको सम्मान र संरक्षण गर्नुपर्छ । ज्येष्ठ नागरिकको क्षेत्रमा हामीले नयाँ ढंगले कतिपय कार्यक्रमहरु आउने दिनमा अगाडि ल्याउनेछौं । हामी संघीय सरकार, स्थानीय सरकार या अरु संस्थासंग सहकार्य गरेर अगाडि बढ्ने बढ्नेछोँ । मनमोहन स्मृति प्रतिष्ठान प्रदेशस्तरमा पनि हामी विधिवत रूपमा गठन गर्दैछौँ । सम्भव भएका जिल्लाहरूमा पनि गठन गर्छौं । यो संस्थालाई व्यवस्थित ढंगले प्रभावकारी ढंगले तीनवटा क्षेत्रमा काम गर्नेछौँ । लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा योगदान पुर्याउनुहुनेहरूको विचार र योगदानको बारेमा हामी हाइलाइट गर्छौँ । व्यवसायिक र प्राविधिक शिक्षालाई अगाडि बढाउन चाहन्छौँ । सामाजिक सुरक्षाका क्षेत्रमा खासगरी जेष्ठ नागरिकहरूको विषयमा केन्द्रित भएर आउने दिनमा हामी आफ्ना कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ ।’ 

उहाँले मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरुका लागी अगाडी सारेको सामाजिक सुरक्षा भत्तासम्बन्धी योजना हाल प्रभावकारी भएको पनि स्मरण गराउनु भयो । शनिवारदेखि शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन आईतवार सकिएको हो ।

 

Nepal life insuranceimagesimagesimages