


काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई नयाँ किसिमले अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार कम्युनिष्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित २६औँ निर्मल लामा स्मृति सभामा बोल्दै प्रचण्डले सबै कम्युनिष्टहरु एक ठाउमा आउन नसके ठुलो संकट आउन सक्ने टिप्पणी गरे ।

उनले अहिले कम्युनिष्ट आन्दोलनलाई नै किनारमा पुर्याउन खोजिएको भन्दै नेतृत्वकर्ताहरुले जनताको एकताको चाहनालाई बुझेर आफ्ना स्वार्थ त्याग्न तयार भए देशभक्त र कम्युनिष्ट शक्ति मिलेर जान सकिने बताए ।
उनले भने- ‘आम रुपमा बामपन्थी र देशभक्त एकबद्ध हुनुपर्यो भन्ने आवाज उठेको छ । त्यस्तै अर्कोतर्फ शान्ति सम्झौता पक्षका दलहरु पनि एक ठाउमा आएर एउटा मोर्चा बनाउनुपर्ने आवाज जनताले उठाएका छन् ।’
प्रचण्डले भदौ २३ र २४ पछिको अवस्था नकारात्मकनै रहेको बताउदै नकारात्मक अवस्थामा पनि केहि सकारात्मक खोज्नुपर्ने र सबै कम्युनिष्ट एक हुने अवसर समेत भएको बताए ।



