आइतवार दिंउसो बसेको मोर्चाको बैठकपछि जारी बिज्ञप्तिमा भनिएको छ, ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीयता लगायत मधेसका मुद्दा सम्बन्धमा गरेको आन्दोलनलाई निस्तेज गर्न राज्यका सम्पूर्ण निकायबाट भइरहेको सिलसिलेवार प्रहारका क्रममा नै मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता उपर लगाएको अभियोग सावित गरी आएको फैसला हो भन्ने कुरा मोर्चाले ठहर गरेको छ ।’
गत मंगलबार गुप्तालाई सर्वोच्च अदालतले ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा डेढ बर्ष जेल र ८४ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । गुप्ता जेलमा छन् । गुप्तालाई गरिएको फैसलापछि मोर्चाले त्यस सम्बन्धमा पहिलो पटक औपचारिक धारणा राखेको थियो ।
। ‘एउटा अदालतले सफाइ दिने र अर्को अदालतले अभियोग सावित गर्ने काम गर्दा समस्या भएको छ’ सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बैठकपछि संवाददाताहरुलाई भने ।
मोर्चाले शान्ति प्रकृयाको पूर्णता तथा संघीय लोकतान्त्रिक संविधान समयमा निर्माण गर्न गराउन मोर्चा प्रतिबद्ध छ रहेको पनि जनाएको छ । बैठकमा उपप्रधान तथा गृहमन्त्री विजय गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, स्वास्थ्य मन्त्री तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका मोर्चाका नेताहरु थिए ।



