काठमाडौँ – नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले संयुक्त रूपमा आज राजधानीमा आयोजना गरेको विरोध कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालय अगाडि धर्नामा रहेका करिब २०० शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शिक्षकका पेसागत माग राखी गरिएको विरोध कार्यक्रममा उत्रिएका शिक्षकहरू खुल्लामञ्चमा भेला भई केशरमहलस्थित शिक्षा मन्त्रालयमा सभामा परिणत हुने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
सभामा मन्तव्य दिने तयारीका लागि मञ्चका रूपमा प्रयोग भएको मिनीट्रकमा रहेका विभिन्न शिक्षक संस्थाका अध्यक्षलगायतलाई नियन्त्रणमा लिइएको हो। उनीहरूलाई हाल दरबारमार्गस्थित प्रहरीका प्रभागमा राखिएको छ।
प्रहरीले हस्तक्षेप गरेको विरोधमा अन्य शिक्षकले केशरमहलबाट पुनः शान्ति बाटिकासम्म जुलुस गरी कोणसभा गरेका थिए।
प्रहरीको दमनका क्रममा शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीलगायत सामान्य घाइते भएका छन्।
प्रहरी नियन्त्रणमा रहनुभएका अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीले आफूहरूको आन्दोलनमा प्रहरीले दमन गरेको बताए। शिक्षकहरूले हिजो शनिबार पठनपाठन गरी आज देशभरका विद्यालय बन्द गरेका थिए।
यसैबीच, बालबालिका राष्ट्रिय अभियान (सिजप) ले विद्यालय बन्दले विद्यालय शान्ति क्षेत्रको अवधारणामा आघात पुगेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ। रासस



