


दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले होर्मुज जलडमरूमध्यमा लंगर हालेर बसेको एक दक्षिण कोरियाली व्यावसायिक जहाजमा दुईवटा अज्ञात उडिरहेका वस्तुले प्रहार गरेको पुष्टि गरेको छ । सरकारी संयुक्त अनुसन्धान टोलीले गरेको स्थलगत निरीक्षणपछि यस घटनाको औपचारिक जानकारी दिइएको हो ।

मन्त्रालयका अनुसार गत मे ४ तारिखमा पानामाको झण्डा अंकित ‘एचएमएम नामु’ नामक जहाजको पछिल्लो भागमा विष्फोट भई आगलागी भएको थियो । उक्त जहाजमा ६ जना दक्षिण कोरियाली र १८ जना विदेशी नागरिक गरी कुल २४ जना चालक दलका सदस्यहरू सवार थिए । घटनामा कुनै मानवीय क्षति नभएको र सबै सदस्यहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

प्राविधिक जाँचका क्रममा जहाजको इन्जिन, जेनेरेटर वा बोयलरमा कुनै खराबी नभेटिएकाले उक्त आगलागी जहाजको आन्तरिक कारणले नभएको निष्कर्ष निकालिएको छ । यद्यपि प्रहार गरिएका वस्तुहरूको प्रकृति र आकारका बारेमा भने अहिलेसम्म यकिन हुन सकेको छैन।
घटनास्थलबाट संकलन गरिएका भग्नावशेषहरूको थप वैज्ञानिक विश्लेषण भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । यसैबीच, दक्षिण कोरियाका लागि इरानी राजदूत सइद कुजेचीले परराष्ट्र मन्त्रालयको भ्रमण गरी अनुसन्धानको नतिजाबारे जानकारी लिनुभएको छ । इरान यस क्षेत्रको एक प्रमुख सम्बद्ध मुलुक भएकाले उनलाई घटना र अनुसन्धानको वस्तुस्थितिबारे ब्रिफिङ गरिएको प्रवक्ताले बताउनु भयो ।



