बायोडीजलको बढ्दो माग र उत्पादन लागतमा वृद्धिका कारण मलेसियाको पाम आयल बजारमा सुधारको प्रक्षेपण

 

विश्वको दोस्रो ठूलो पाम आयल उत्पादक मुलुक मलेसियामा बायोडीजलको बढ्दो माग, उत्पादन लागतमा वृद्धि र कच्चा तेलको बजारमा आएको संरचनात्मक परिवर्तनका कारण पाम आयलको मूल्यमा सकारात्मक सुधार आउने विश्लेषण गरिएको छ । मौज्दातमा वृद्धि र निर्यातमा देखिएको केही अनिश्चितताका बावजुद विश्लेषकहरूले पाम आयलको भविष्यप्रति सकारात्मक दृष्टिकोण व्यक्त गरेका छन् ।

मेबैंक इन्भेस्टमेन्ट बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मध्यपूर्वको द्वन्द्व शुरु हुनुभन्दा अघिको अवस्थामा कच्चा तेलको मूल्य फर्कने सम्भावना न्युन छ । यसै परिवेशलाई ध्यानमा राख्दै इण्डोनेसिया र मलेसियाले बायोडीजल मिश्रण (ब्लेन्डिङ) सम्बन्धी नीतिलाई थप प्रभावकारी बनाउँदै यसको प्रयोग अनिवार्य रूपमा बढाउने तयारी गरेका छन् । यसैगरी, एमबीएसबी रिसर्चले मे महिनामा कच्चा पाम आयलको मूल्य मुख्यतया स्थिर रहने अनुमान गरेको छ ।

‘पोलिनेशन’ (परागण) चरणका कारण उत्पादनमा हुने मौसमी गिरावट र सन् २०२६ को जुन–जुलाईसम्ममा कार्यान्वयनमा आउने मलेसियाको ‘बि१५’ तथा इण्डोनेसियाको ‘बि५०’ बायोडीजल कार्यक्रमको अपेक्षाले बजार मूल्यलाई थप बल पुग्ने देखिएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार चाडपर्वपछिको निर्यातमा आएको सुस्तीका कारण अप्रिल महिनामा मलेसियाको पाम आयल भण्डारण गत वर्षको तुलनामा २३.८ प्रतिशतले वृद्धि भई करिव २३ लाख १० हजार टन पुगेको छ ।

उक्त अवधिमा पाम आयलको उत्पादनमा ३.४ प्रतिशतले ह्रास आई १६ लाख ३० हजार टनमा सीमित भएको छ । यद्यपि निर्यात महसुल बढ्ने पूर्वअनुमानका कारण भएको ‘रिस्टकिङ’ (भण्डारण पुनःपूर्ति) ले गर्दा निर्यात भने १८ प्रतिशतले बढेर १३ लाख टन पुगेको तथ्याङ्कले देखाएको छ ।

 

Nepal life insuranceimagesimagesimages