


केन्याको राजधानी नैरोबीमा आयोजना गरिएको पहिलो ‘अफ्रिका फरवार्ड समिट’ सम्पन्न भएको छ । सम्मेलनमा सहभागी विश्वका प्रभावशाली नेताहरू र अफ्रिकी राष्ट्रप्रमुखहरूले महादेशको आर्थिक सम्भावनालाई उजागर गर्न नयाँ वित्तीय संरचना र पद्धति अपनाउनुपर्नेमा जोड दिएका छन् ।
केन्याका राष्ट्रपति विलियम रुटो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सह–अध्यक्षतामा दुई दिनसम्म चलेको उक्त शिखर सम्मेलनमा २० भन्दा बढी देशका राष्ट्रपति तथा प्रधानमन्त्री, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनका प्रमुखहरूका साथै २ हजार ५ सय भन्दा बढी व्यवसायी, लगानीकर्ता र युवा नवप्रवर्तकहरूको सहभागिता रहेको थियो ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्याका राष्ट्रपति रुटोले वर्तमान अन्तर्राष्ट्रिय वित्तीय प्रणालीलाई ‘संरचनात्मक रूपमा नै असमान’ रहेको टिप्पणी गर्नुभयो । उहाँले अफ्रिकी राष्ट्रहरूले उच्च ब्याजदर र सीमित सहुलियतपूर्ण ऋणको सामना गर्नुपरेको उल्लेख गर्दै अबको युग सहायता र परनिर्भरताको नभई लगानी, नवप्रवर्तन र रणनीतिक साझेदारीको हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अफ्रिकाले सामना गरिरहेको आर्थिक असन्तुलन अन्यायपूर्ण र दिगो नरहेको बताउनु भयो । वर्तमान वित्तीय संरचना अफ्रिकाको पूर्वाधार र औद्योगिक विकासका लागि मुख्य वाधक बनेको उनको तर्क छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विद्यमान बहुपक्षीय वित्तीय संस्थाहरू अफ्रिकाको विकासको लक्ष्य पूरा गर्न सक्षम नरहेको बताउनु भयो । उहाँले अफ्रिकी मुलुकहरूलाई सस्तो ऋणको पहुँच सुनिश्चित गर्न र ऋण व्यवस्थापनलाई प्रभावकारी बनाउन वित्तीय सुधारको माग गर्नुभयो । महासचिव गुटेरेसले १ अर्ब ५० करोड जनसंख्या भएको अफ्रिकी महादेशको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा स्थायी प्रतिनिधित्व नहुनु ऐतिहासिक अन्याय भएको उल्लेख गर्दै यसले विश्वलाई नै घाटा पुरÞ्याइरहेको स्पष्ट पार्नुभयो ।
अफ्रिकी संघ आयोगका अध्यक्ष महमुद अली युसुफले महादेशमा रहेको पेन्सन र बीमा कोषजस्ता आन्तरिक पुँजीलाई अझै पनि पूर्ण रूपमा परिचालन गर्न नसकिएको बताउनु भयो । उहाँले विदेशी ऋणदाताहरूमाथिको निर्भरता कम गर्न अफ्रिकी नेतृत्वमा आधारित वित्तीय संस्थाहरू स्थापना गर्ने रणनीति अघि बढाइएको जानकारी दिए। अफ्रिका भविष्यमा विश्वव्यापी आर्थिक वृद्धिको केन्द्र बन्ने विश्वास व्यक्त गर्दै उहाँले सबैलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्नुभयो ।



