माओवादी पुष्पकमल दाहालको निवास घेराउ गर्ने आन्दोलन घोषणा गरेका वाईसीएलका केही नेताद्धारा आन्दोलन स्थगित

काठमाडौ  – माओवादी पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष पुष्पकमल दाहालको निवास घेराउ गर्ने आन्दोलन घोषणा गरेका वाईसीएलका केही नेताले आन्दोलन स्थगित गरेका छन् ।

स्वैच्छिक अवकाशमा जाने लडाकुसरह आर्थिक प्याकेज माग गर्दै आन्दोलनमा उत्रिएका वाईसीएलले पार्टीले माग पूरा गर्ने सकारात्मक कदम चालेको भन्दै एक साताका लागि आन्दोलन स्थगित गरेका हुन् । लडाकुबाट वाईसीएलमा तानिएका पूर्वलडाकु कमान्डर धु्रब घिमिरेले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलन फिर्ता गरेको जानकारी गराएका हुन् ।

‘२०६८ फागुन १४ गते पार्टी केन्द्रीय कार्यालयको बैठकले उक्त मागहरूलाई सम्बोधन गर्ने भनी विप्लव -नेत्रविक्रम चन्द) र प्रभाकर (जनार्दन शर्मा) लाई जिम्मा दिइएको समेत सर्कुलरमा उल्लेख भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय कार्यालयको निर्णय सकारात्मक हुँदाहुँदै पनि अझै ठोस र मूर्त कार्यान्वयन गर्न सहज होस् भनी यही फाल्गुन १६ देखि २२ गतेसम्म हाम्रो आन्दोलनलाई स्थगन गरिएको छ ।’ उनले आफ्ना मागहरू उक्त मितिभित्र सम्बोधन नभए यही फागुन २३ गतेबाट पुनः सशक्त आन्दोलन गर्ने जनाएका छन् । – कान्तिपुर