


-अर्घाखाँची डटकम ।
काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट देशभर २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने आकलन सार्वजनिक गरेको छ।
प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ अनुसार बाढी, पहिरो, डुबान, भू–क्षय तथा आकस्मिक बाढीजस्ता विपद्का कारण ५१ हजार ८६८ घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको हो।

बिहीबार सिंहदरबारमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको हो।
प्राधिकरणका अनुसार यस वर्ष लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ। लुम्बिनीमा मात्रै ११ हजार ८१४ घरधुरीका ५१ हजार ६२६ जना मनसुनजन्य विपद्को जोखिममा रहेका छन्।
त्यसैगरी कोशी प्रदेशमा ३८ हजार ७३६, मधेश प्रदेशमा ३५ हजार ३६१, बागमती प्रदेशमा ३२ हजार ८९७, सुदूरपश्चिममा ३३ हजार २२७, गण्डकीमा २१ हजार ६४१ तथा कर्णालीमा १३ हजार १७५ जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधिमा सरदरभन्दा कम वर्षा भए पनि तापक्रम वृद्धि हुने सम्भावना रहेको जनाएको छ। तापक्रम बढेसँगै हिमाली क्षेत्रमा हिमताल विस्फोट, पहाडी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबान र तातो हावाको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

प्राधिकरणका अनुसार विगत १० वर्षमा मनसुनजन्य विपद्का कारण ३ हजार ७४ जनाको मृत्यु भएको छ भने ५०२ जना बेपत्ता भएका छन्। पहिरोका कारण सबैभन्दा बढी १ हजार ४८३ जनाले ज्यान गुमाएका छन्।
यस वर्ष सम्भावित विपद् न्यूनीकरणका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला मन्त्रालय लगायत निकायलाई खोज तथा उद्धार, राहत, पुनःस्थापना र स्थानीय तहसँग समन्वयको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ।
सरकारले स्थानीय तहलाई पूर्वतयारी, जोखिमयुक्त क्षेत्र पहिचान, सुरक्षित स्थान व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउन समेत निर्देशन दिएको छ।
#मनसुन #विपद् #लुम्बिनी #बाढी #पहिरो #नेपालसमाचार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



