


मलेसियाको कुल जनसङ्ख्या सन् २०२६ को पहिलो त्रैमासिकमा ३ करोड ४४ लाख पुगेको छ । मलेसियाको तथ्याङ्क विभागद्वारा बिहीवार सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ४२ लाख रहेको जनसङ्ख्यामा यस वर्ष सामान्य वृद्धि देखिएको हो ।

प्रतिवेदन अनुसार, जनसङ्ख्या वृद्धिदरमा भने उल्लेख्य कमी आएको छ । अघिल्लो वर्ष ०.९ प्रतिशत रहेको वृद्धिदर यस वर्ष घटेर ०.५ प्रतिशतमा सिमित भएको छ । कुल जनसङ्ख्यामा नागरिकहरूको हिस्सा ९०.१ प्रतिशत र गैर–नागरिकहरूको हिस्सा ९.९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा स्थिर छ ।
लैङ्गिक आधारमा पुरुषको जनसङ्ख्या १ करोड ७९ लाखबाट बढेर १ करोड ८० लाख पुगेको छ भने महिलाको जनसङ्ख्या १ करोड ६२ लाखबाट सामान्य वृद्धि भई १ करोड ६३ लाख पुगेको छ । उमेर संरचनाको विश्लेषण गर्दा, शुन्य देखि १४ वर्ष उमेर समूहको जनसङ्ख्या २१.८ प्रतिशतबाट घटेर २१.६ प्रतिशतमा झरेको छ । त्यस्तै, १५ देखि ६४ वर्षको कार्यशील उमेर समूहको हिस्सा ७०.३ प्रतिशतबाट झिनो वृद्धि भई ७०.४ प्रतिशत पुगेको छ । जातीय बनोटका आधारमा मले समुदायको हिस्सा ५८.२ प्रतिशतबाट झिनो वृद्धि भई ५८.३ प्रतिशत पुगेको छ ।

अन्य भूमिपुत्र र भारतीय समुदायको हिस्सा क्रमशः १२.३ र ६.५ प्रतिशतमा यथावत रहँदा चिनियाँ मूलका नागरिकको हिस्सा भने २२.२ प्रतिशतबाट घटेर २२.१ प्रतिशतमा झरेको छ । यसैगरी, सन् २०२६ को पहिलो त्रैमासिकमा जन्मदरमा ३.१ प्रतिशतले गिरावट आई ९४ हजार ८ सय ७ कायम भएको छ । सोही अवधिमा मृत्यु हुनेको सङ्ख्यामा पनि १.५ प्रतिशतले कमी आई ४९ हजार १ सय ३९ पुगेको विभागको तथ्याङ्कले देखाएको छ ।



