टर्की र आर्मेनियाबीच प्रत्यक्ष व्यापारका लागि प्रशासनिक बाटो खुल्यो

 

टर्कीले छिमेकी मुलुक आर्मेनियासँग प्रत्यक्ष व्यापार शुरु गर्न आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रियाहरू पूरा भएको घोषणा गरेको छ । दशकौँदेखि चिसिएको आपसी सम्बन्धलाई सामान्य बनाउने दिशामा यसलाई एक महत्त्वपूर्ण कदम मानिएको छ । टर्कीको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओन्कु केसेलीले सन् २०२२ को शुरुमा थालिएको सम्बन्ध सुधार (नर्मलाइजेसन) प्रक्रियाकै सिलसिलामा यसै साता यी उपायहरूलाई अन्तिम रूप दिइएको जानकारी दिएका छन्। लामो समयदेखि तनावपूर्ण रहेको द्विपक्षीय सम्बन्धलाई सुधार्ने प्रयासमा यो निर्णयलाई अहिलेसम्मकै स्पष्ट उपलब्धिको रूपमा हेरिएको छ ।

Nepal life insurance

नयाँ व्यवस्था लागू भएसँगै अब दुई देशबीच तेस्रो मुलुक (विशेष गरी जर्जिया) मार्फत हुने सामान ओसारपसारका क्रममा भन्सार कागजातहरूमा गन्तव्य वा उत्पत्तिको स्थानका रूपमा सिधै ‘आर्मेनिया’ वा ‘टर्की’ उल्लेख गर्न सकिनेछ । यसअघि औपचारिक व्यापारिक सम्बन्धको अभावमा मध्यस्थकर्ताहरूमार्फत अप्रत्यक्ष रूपमा मात्र व्यापार हुँदै आएको थियो । प्रवक्ता केसेलीकाअनुसार साझा स्थल सीमा नाका खोल्नका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक कार्यहरू पनि जारी छन् ।

सन् १९९३ मा पहिलो नागोर्नो–काराबाख युद्धका क्रममा अजरबैजानलाई समर्थन गर्दै टर्कीले आर्मेनियासँगको सीमा बन्द गरेको थियो । सन् २०२५ को जुन महिनामा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यानबीच इस्तानबुलमा भएको भेटवार्तापछि सम्बन्ध सुधारको प्रक्रियाले तीव्रता पाएको हो। सन् २००० को दशकको अन्त्यतिर गरिएका प्रयासहरू असफल भएपछि पछिल्लो समय दुवै पक्ष ऐतिहासिक कटुतालाई त्यागेर अघि बढ्न इच्छुक देखिएका छन् ।

सम्बन्ध सुधारका लागि दुवै देशले केही सांकेतिक कदमहरू समेत चालेका छन् । यसै वर्षको मे ४ मा दुई देशको सिमानामा रहेको र सिल्क रोड कालीन ऐतिहासिक ‘आनी पुल’ को संयुक्त रूपमा पुनर्निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो। अखुरियन नदीमाथि रहेको यो संरचनाले दुई देशको ऐतिहासिक सम्बन्धलाई जोड्ने विश्वास गरिएको छ ।

 

Nepal life insuranceimagesimagesimages