


सन् २०२६ को पहिलो चार महिनामा हङकङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ । हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा करिव १ करोड ८५ लाख २० हजार पर्यटकले हङकङको भ्रमण गरेका छन् ।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जनवरीदेखि अप्रिलसम्मको अवधिमा मुख्यभूमि चीनबाट हङकङ आउने पर्यटकको सङ्ख्या १८ प्रतिशतले बढेर १ करोड ४१ लाख ८० हजार पुगेको छ ।


त्यसैगरी, विश्वका अन्य मुलुकबाट हुने भ्रमणमा ८ प्रतिशतले वृद्धि भई ४३ लाख ४० हजार पुगेको छ । अप्रिल महिनामा मात्रै हङकङमा करिब ४२ लाख २० हजार पर्यटक भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १० प्रतिशतले बढी हो ।


पर्यटक आगमनमा देखिएको यस वृद्धिको मुख्य श्रेय अप्रिलमा आयोजित ‘हङकङ सेभेन्स’ रग्बी प्रतियोगितालाई दिइएको छ । विश्व रग्बी खेलको एक प्रतिष्ठित प्रतियोगिताका रूपमा रहेको यस इभेन्टले ठुलो सङ्ख्यामा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको बोर्डले जनाएको छ । यस प्रकारका ठूला कार्यक्रमहरूले हङकङमा पर्यटक आगमनको सकारात्मक लयलाई निरन्तरता दिन महत्वपूर्ण भुमिका खेलेका छन् ।



