नेपाल ‘बफर स्टेट’ होइन, परराष्ट्र नीतिमा हिनताबोध त्याग्न आवश्यकः विज्ञ अधिकारी

 

परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको परराष्ट्र कुटनीति सञ्चालनका क्रममा ऐतिहासिक कालदेखि नै शासकहरू यहाँको संवेदनशील भू–अवस्थितिबारे सचेत रहेको बताउनुभएको छ ।  नेपालको सार्वभौमसत्तालाई विभिन्न राजनीतिक प्रणालीहरूमा नेतृत्वले जोगाउँदै ल्याएको भएपनि कुटनीतिक अभ्यासमा कतिपय अवस्थामा ‘हिनताबोध’ झल्कने गरेको उहाँको विश्लेषण छ ।

Nepal life insurance

अधिकारीकाअनुसार नेपालले कानूनी रूपमा (डि–ज्युरे) आफ्नो सार्वभौमसत्ता कायम राखे पनि व्यवहारिक (डि–फ्याक्टो) रूपमा आफूलाई कमजोर वा ‘इन्फेरियर’ ढङ्गले प्रश्तुत गर्ने गरेको पाइएको छ । विशेष गरी पृथ्वीनारायण शाहको ‘दुई ढुङ्गाबीचको तरुल’ भन्ने उपदेशलाई सन्दर्भ जोड्दै उहाँले यस भाष्यले नेपाललाई स्वभावैले कमजोर र चलखेल गर्न नसक्ने राज्यका रूपमा चित्रण गरेको टिप्पणी गर्नुभयो ।

नेपाललाई ‘बफर जोन’ (मध्यवर्ती क्षेत्र) मान्ने गरिएको विषयमा स्पष्ट पार्दै उहाँले नेपालले आफूलाई कहिल्यै पनि औपचारिक रूपमा ‘बफर स्टेट’ स्वीकार नगरेको जानकारी दिनुभयो । ‘बफर स्टेट’ हुनका लागि दुई ठूला र शक्ति राष्ट्रहरूबीच द्वन्द्व रोक्न सक्ने हैसियत भएको राज्य हुनुपर्ने र ती शक्ति राष्ट्रहरूले उक्त राज्यको सीमासम्म मात्र आफ्नो प्रभाव सिमित रहने गरी औपचारिक वा अनौपचारिक सहमति गरेको हुनुपर्ने उहाँको तर्क छ । नेपालको हकमा यस्तो कुनै पनि अन्तर्राष्ट्रिय मान्यता वा सहमति नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो समयको सन्दर्भमा उक्त भनाइको व्यवहारिक महत्व भएपनि यसलाई परराष्ट्र नीतिको मूल मन्त्र बनाइनु आफैँमा हिनताबोधपूर्ण छ । यसले हामीलाई सधैँ कमजोर र असुरक्षित महशुस गराउने भाष्य निर्माण गरेको छ ।’
वर्तमान सन्दर्भमा नेपाल सरकारले अवलम्बन गर्न खोजेको ‘बफर टु ब्रिज’ (मध्यवर्तीबाट पुल) को अवधारणामाथि चर्चा गर्दै अधिकारीले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई अवसरमा बदल्नुपर्नेमा जोड दिनुभयो । दुई छिमेकी मुलुकका बीचमा सन्तुलित कुटनीति कायम गर्दै नेपालले आफ्नो सार्वभौम हैसियतलाई दृढतापूर्वक प्रश्तुत गर्नुपर्ने उहाँको सुझाव छ ।

 

Nepal life insuranceimagesimagesimages