राष्ट्रपति रामवरण यादवद्धारा सर्वोच्चको फैसलालाई ख्याल गर्दै फेरि संविधानसभाको म्याद थप्ने प्रयन्त नगर्न राजनीतिक दलहरुलाई सुझाव

राष्ट्रपति डा. रामवरण यादवले अब संविधान सभाको म्याद थप्न नसकिने भन्दै बांकी रहेको अवधिभित्रै शान्ति र संविधान लेखनलाई टुंगोमा पु-याउनु पर्नेमा जोड दिनुभएको छ ।

 

शान्ति प्रक्रिया र संविधान निमार्णलाई संविधान सभाको बाँकी अवधिभित्रै टुंगोमा पु-याउने ढंगबाट दलहरुबीच छलफल नचलेको भन्दै राष्ट्रपतिले जनताले आभास गर्ने गरी तत्काल निर्णय लिन समेत दलहरुलाई आग्रह गर्नुभएको छ ।

 

राष्ट्रपति भवनमा आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलसंगको भेटमा राष्ट्रपति यादवले संविधान सभाको बाँकी अवधिभित्रै दुवै प्रक्रिया टुंगिने गरी कामको गति बढाउन आग्रह गर्नुभएको हो ।

राष्ट्रपति यादवले लडाकु समायोजनमा पनि नेपाली सेनालाई विवादमा नतान्न सचेत गराउँदै राजनीतिक तहमा सहमति गरेर सेनालाई सहभागी गराउनुपर्ने धारणा राख्नु भएको थियो ।

 

भेटमा नेता पौडेलले भने दलहरुबीच पछिल्ला दिनमा भएको छलफल सकारात्मक भएको भन्दै भोली हुने तीन दलको बैठकबाट केही निकास आउने आशा गरिएको बताउनुभयो । उहांले माओवादीमा इमान्दारीता र इच्छाशक्ति भए शान्ति र संविधान निर्माण टुंगोमा पु-याउन खाशै समस्या नभएको पनि बताउनुभयो ।

राष्ट्रपति यादव र कांग्रेस नेता पौडेलबीच झण्डै सवा घण्टा वार्ता भएको थियो ।