आईपीओ बजारमा जलविद्युत् कम्पनीको दबदबा

 

काठमाडौं, ०४ जेठ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डका अनुसार यी कम्पनीहरूले कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न पाउने भएका छन्, जसको कुल मूल्य करिब नौ अर्ब ११ करोड रुपैयाँ बराबर रहेको छ।

अनुमति प्राप्त कम्पनीमध्ये जलविद्युत् क्षेत्रकै वर्चस्व देखिएको छ। २४ कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनासम्बन्धी रहेका छन्। हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पनि १०३ जलविद्युत् कम्पनी सूचीकृत भई कारोबार भइरहेका छन्, जसले बजारमा यस क्षेत्रको प्रभाव बढ्दो रहेको संकेत गर्छ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन क्षेत्रका सात कम्पनीले आईपीओ अनुमति पाएका छन् भने विकास बैंक र होटल तथा पर्यटन क्षेत्रका एक÷एक कम्पनी रहेका छन्।

बोर्डमा अझै ९८ कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्। आवेदन दिनेमा जलविद्युत्का ३२ कम्पनी अगाडि छन् भने होटल तथा पर्यटन क्षेत्रका १८, उत्पादन तथा प्रशोधनका २६, लगानी समूहका पाँच, माइक्रो इन्स्योरेन्सका तीन तथा अन्य समूहका १४ कम्पनी रहेका छन्।

यसले नेपाली पूँजी बजारमा नयाँ कम्पनीको आकर्षण बढ्दै गएको र विशेषगरी ऊर्जा क्षेत्रमा लगानीकर्ताको चासो तीव्र रहेको देखाउँछ।

 

Nepal life insuranceimagesimagesimages