शहरी विकास विभागका महानिर्देशक बोहोराले निर्माण व्यवसायीलाई भने– मूल्यवृद्धिलाई सम्बोधन हुन्छ, काममा फर्कानुहोस्

 

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहोराले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न सरकारले खरिद ऐन तथा नियमावलीअन्तर्गत समाधानको तयारी गरिरहेको बताउनुभएको छ ।
काम रोकेर ज्ञापनपत्र बुझाउन गएका निर्माण व्यवसायीहरूलाई समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेकाले ढुक्क भएर काममा फर्कन आग्रह गर्नुभयो । बोहोराकाअनुसार मन्त्रालयलबाटै विकास निर्माणसँग सम्बन्धित विभागका महानिर्देशकहरूलाई समस्या समाधानका लागि प्रतिवेदन तयार गर्न भनिएको थियो ।

विभिन्न मोडेलमा समस्या समाधान गर्न सकिने सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पठाइसकेकाले  छिट्टै निर्माण व्यवसायीको समस्या हल गर्ने गृहकार्य चलिरहेको छ ।  खरिद ऐन र नियमावलीभित्र रहेर मूल्यवृद्धिको समस्या सम्बोधन गर्ने गरी प्रतिवेदन तयार पारि मन्त्रालयमा बुझाइ सकिएको उहाँले बताउनु भयो । उक्त प्रतिवेदन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा पुगेर छलफल भइसकेपछि कानुन मन्त्रालयमार्फत प्रश्कताव अघि बढ्ने बोहोराले बताउनुभयो । विगतमा पनि कोभिडका बेला तथा सुरुङमार्ग निर्माणका क्रममा बाधा अड्काउ फुकाउने अभ्यास भएको र नेपाल सरकारले चाहेमा अहिले पनि त्यही प्रक्रियाबाट समाधान निकाल्न सक्ने उहाँले बताउनु भयो ।

महानिर्देशक बोहोराले भन्नुभयो–‘विकास निर्माणसँग सम्बन्धित विभागका डीजीहरूलाई जिम्मेवारी प्रदान गरिएको थियो र हामीले विभिन्न मोडेलमा गृहकार्य गर्यौं । तीमध्ये पछिल्लो मोडेल भनेको खरिद ऐन तथा नियमावलीअन्तर्गत, म्याद थप गर्दा जुनसुकै अवस्था भए पनि मूल्यवृद्धिलाई सम्बोधन गर्ने खालको सुझावसहितको प्रतिवेदन तयार गरिएको छ । त्यो अहिले मन्त्रालयमा विचाराधीन अवस्थामा छ । अब मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा गएर त्यस विषयमा छलफल भएपछि खरिद ऐनमा भएको व्यवस्थाअनुसार कसरी बाधा–अड्काउ फुकाउने भन्ने विषयमा निर्णय हुन्छ । विगतमा पनि यस्तो अभ्यास भएको छ । कोभिडको समयमा निर्माण सामग्री खरिदका बेला तथा सुरुङमार्ग निर्माणमा पनि यस्ता बाधा–अड्काउ फुकाइएको थियो । नेपाल सरकारले चाहेमा अहिले पनि यो समस्या समाधान गर्न सक्छ । त्यस दिशामा सरकारले गृहकार्य गरिरहेको छ र प्रक्रिया धेरै अगाडि बढिसकेको अवस्था छ । प्रधानमन्त्री कार्यालयमा सहमति भएपछि कानुन मन्त्रालयले प्रस्ताव लैजान्छ र यो तुरुन्तै गर्न सकिने विषय हो । यो हप्ताभित्रै त्यस दिशामा काम अगाडि बढ्नेछ । हामी महानिर्देशकहरूले दुई–तीनवटा ड्राफ्टमा काम गरेका थियौं । तीमध्ये अहिलेको मोडेल अलि बढी व्यवहारिक देखिएको छ । प्रधानमन्त्री कार्यालय तथा विज्ञहरूको सुझाव लिएर निर्माण व्यवसायीले पनि काम गर्न सक्ने गरी मूल्य समायोजन आउने खालको प्रतिवेदन तयार गरिएको हो । यो छिट्टै पास हुनेछ । राज्यलाई निरन्तर दबाब दिइरहनुभन्दा यस्तो विषय स्वतःस्फूर्त रूपमा समाधान हुनुपर्ने हो । तर नयाँ सरकार बनेको दुई महिना मात्रै भएको अवस्था छ । सरकारले यसलाई सम्बोधन गरेर अगाडि बढ्ने तयारी गरिरहेको मैले बुझेको छु र यो छिट्टै सम्बोधन हुन्छ । विभागको तर्फबाट म सकारात्मक छु ।’

बोहोराले सरकारले समस्या समाधानका लागि आवश्यक गृहकार्य धेरै अघि बढाइसकेको र छिट्टै निर्णय हुनेमा आफूहरू आशावादी रहेको बताउनु भयो ।
उहाँकाअनुसार बिटुमिन प्रयोग हुने सडकतर्फका आयोजनामा काम प्रभावित भए पनि अन्य निर्माण क्षेत्रमा डन्डी र सिमेन्टको मूल्य अत्यधिक नबढेकाले पूर्णरूपमा काम ठप्प नभएको गर्नुपदैन ।

मूल्य समायोजनको समस्या समाधान भएपछि म्याद थपका विषयमा पनि सहजता आउने र निर्माण व्यवसायीले कामलाई गति दिने अपेक्षा सरकारको रहेको उहाँले बताउनु भयो ।
ज्ञापनपत्र बुझाउँदै निर्माण व्यवसायीले भने अहिले काम गर्दा घरखेत जाने अवस्था रहेकाले काममा फर्किने अवस्था नरहको बताएका थिए ।

 

 

Nepal life insuranceimagesimagesimages