राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्धारा संघीयताविरुद्धको आन्दोलनमा उत्रिएका आफ्ना कार्यकर्तालाई तनहुँमा कुटपिट गरेको भन्दै निन्दा

– दिलीप पौडेल

 

बाग्लुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मित्रशक्तिले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको बताएका छन्। संघीयताविरुद्धको आन्दोलनमा उत्रिएका आफ्ना कार्यकर्तालाई तनहुँमा आइतबार बल प्रयोग गरेर कुटपिट गरेको भन्दै घटनाको निन्दा गरेका छन्।

केसीले आगामी चैत २७ गतेसम्म एमालेसँग कुनै सहकार्य नगर्ने घोषणा गरेका छन्। ‘मित्रशक्ति ठान्ने एमालले प्रहरीको समेत सहयोग लिएर हाम्रा कार्यकर्तामाथि हातपात गर्‍यो,’ केसीले टेलिफोनमा भने, ‘चैत २७ गतेसम्म हुने संघीयताविरोधी अभियानको समयसम्म एमालेको निम्तामा समेत सहभागी हुँदैनौँ।’

 

संघीयताको खारेजको माग गर्दै जनमोर्चाले आइतबार आयोजना गरेको गण्डकी, धौलागिरीको पूर्व सन्ध्यामा बन्दले सुरक्षा चिन्ता थपिएको एमाले अध्यक्ष झलनाथ खनालले बताएका थिए। अध्यक्ष खनालको अभिव्यक्ति आएको भोलीपल्टै एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गर्नु दुःखद भएको बताए। ‘हाम्रो संगठन कमजोर भएको ठाउँमा एमालले दादागिरी देखायो,’ केसीले भने, ‘यस्ता निन्दनीय कार्य तत्काल सच्चाउनुपर्छ।’ एमालेको राष्ट्रिय परिषद वैठक आइतबाबाट सुरु भएको छ।


केसीले एमाले अध्यक्ष खनाललाई शनिबार रातिसम्म गण्डकी र धौलागिरीका कार्यकर्तालाई काठमाडौं ल्याउन आग्रह गर्दासमेत अटेर गरेको दाबी गरे। ‘मैले खनालजीलाई टेलिफोन गरेर बन्दको अघिल्लो दिननै कार्यकर्तालाई ल्याउनु भनेर सुझाएको थिएँ,’ केसीले भने, ‘बन्द असफल पार्ने षडयन्त्रस्वरुप तनहुँमा बन्द असफल पार्ने प्रयास गरियो।’