

काठमाडौं, ०६ जेठ । नेपाल आयल निगम ले देशभर सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको सेवा, सरसफाइ र सुरक्षा व्यवस्थामा तत्काल सुधार गर्न निर्देशन दिएको छ। निगमले सात दिनभित्र न्यूनतम मापदण्ड पूरा गर्न सबै प्रादेशिक कार्यालय र डिपोलाई परिपत्र जारी गर्दै अनुगमनसमेत कडाइ गर्न भनेको हो।


निगमका अनुसार धेरै पम्पमा सरसफाइ कमजोर हुनुका साथै अग्नि सुरक्षा उपकरण प्रभावकारी अवस्थामा नरहेको गुनासो बढ्दै गएको छ। त्यसैले अब प्रत्येक पम्पमा आगलागी नियन्त्रणका उपकरण तयारी अवस्थामा राख्नुपर्ने, उपभोक्ताका लागि स्वच्छ पिउने पानी उपलब्ध गराउनुपर्ने र शौचालय नियमित सफा राख्नुपर्ने व्यवस्था लागू गरिने भएको छ।


त्यस्तै, पम्प परिसरलाई व्यवस्थित र आकर्षक बनाउन क्यानोपी मर्मत गर्न, संरचनामा आवश्यक रङरोगन गर्न तथा हरियाली प्रवद्र्धन गर्न पनि निगमले निर्देशन दिएको छ।
निगमले पेट्रोलियम पदार्थको मूल्यसूची स्पष्ट रूपमा देखिने स्थानमा राख्नुपर्ने विषयलाई पनि अनिवार्य बनाएको छ। सात दिनभित्र सबै व्यवस्था कार्यान्वयन गरी त्यसको विवरण सम्बन्धित कार्यालयमार्फत निगमलाई बुझाउन भनिएको छ।




