थाइल्याण्डद्वारा नयाँ भिसा नीति सार्वजनिकः ९३ देशका लागि ६० दिने भिसा–मुक्त प्रवेश सुविधा खारेज

 

थाइल्याण्डको मन्त्रिपरिषद्ले मङ्गलवार भिसा छुट सम्बन्धी नीतिहरूमा व्यापक परिमार्जन गर्दै ९३ देश तथा क्षेत्रका पर्यटकहरूका लागि उपलब्ध ६० दिने भिसा–मुक्त प्रवेश सुविधा खारेज गर्ने निर्णय गरेको छ । थाइ परराष्ट्र मन्त्रालयकाअनुसार राष्ट्रिय सुरक्षा, पर्यटन अर्थतन्त्र र कुटनीतिक पारस्परिकतालाई मध्यनजर गर्दै प्रवेश प्रक्रियालाई थप व्यवस्थित र सुदृढ बनाउन यो नयाँ व्यवस्था लागू गरिएको हो ।

यो नीति आधिकारिक ‘रोयल गजेट’ मा प्रकाशित भएको १५ दिनपछि कार्यान्वयनमा आउनेछ ।

कन्सुलर मामिला विभागका महानिर्देशक मुङकोर्न प्रतुमकाउले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार, भिसा सुविधामा हुने दोहोरोपन हटाउन अबदेखि प्रत्येक देश वा क्षेत्रका लागि केवल एउटा मात्र भिसा छुट योजना लागू गरिनेछ । उहाँले यसअघि ९३ वटा देशहरूले पाउँदै आएको ६० दिने भिसा छुट पूर्ण रूपमा खारेज गरिएको स्पष्ट पार्नुभयो ।

यसैगरी, सरकारले ३० दिने भिसा छुट पाउने देशहरूको संख्या ५७ बाट घटाएर ५४ कायम गरेको छ । यो ३० दिने सुविधा अबदेखि केवल पर्यटन प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने अनिवार्य व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्ले तीनवटा देशका नागरिकका लागि १५ दिने नयाँ भिसा छुट योजना समेत ल्याएको छ । साथै, आगमनमा दिइने भिसा (भिसा–अन–अराइभल) कार्यक्रममा पनि व्यापक कटौती गरिएको छ । यसअघि ३१ वटा देश तथा क्षेत्रले पाउँदै आएको यो सुविधा अब केवल ४ वटामा सीमित गरिएको महानिर्देशक प्रतुमकाउले बताउनु भयो ।

 

 

Nepal life insuranceimagesimagesimages