

अर्घाखाँची डटकम संवाददाता।
अर्घाखाँची । वैदेशिक रोजगारीको नाममा युरोप तथा जर्मनी पठाइदिने प्रलोभन देखाएर युवाहरूबाट लाखौँ रुपैयाँ असुलेपछि सम्पर्कविहीन बनेको आरोपमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका धाकाबाङका रामबहादुर सुनार उर्फ रामु सुनारविरुद्ध पीडित युवाहरूले प्रहरी तथा सञ्चारमाध्यममा उजुरी दिएका छन् ।

पीडितहरूका अनुसार करिब डेढ वर्षअघि “जर्मनी तथा युरोप लैजान्छु” भन्दै अर्घाखाँचीका ३ जना र रुपन्देहीका १ जना गरी ४ युवाबाट प्रतिव्यक्ति १ लाख १० हजार रुपैयाँका दरले रकम असुल गरिएको थियो । तर लामो समय बितिसक्दा पनि विदेश पठाउने प्रक्रिया अघि नबढाएको, न त रकम फिर्ता गरेको भन्दै पीडितहरू अहिले न्यायको खोजीमा रहेका छन् ।

पीडित युवाहरूले सुरुवातमा पासपोर्ट, कागजात प्रक्रिया, भिसा र उडानको बहाना देखाउँदै रकम उठाइएको बताएका छन् । “आजभोलि उडाइन्छ”, “कागज अन्तिम चरणमा पुगेको छ”, “भिसाको काम भइरहेको छ” भन्दै लामो समयसम्म झुलाउने काम गरिएको उनीहरूको गुनासो छ ।

पीडितका अनुसार आरोपित रामबहादुर सुनार अहिले भारतको दिल्ली लगायत विभिन्न शहरहरूमा लुकीछिपी बस्दै आएका छन् । उनले वैदेशिक रोजगारीको नाममा अन्य युवाहरूबाट समेत रकम उठाउने गरेको आशंका गरिएको छ ।
“हामीले भविष्य बनाउने आशामा दुःख गरेर कमाएको पैसा दियौँ, तर अहिले न विदेश जाने अवस्था छ, न पैसा फिर्ता आएको छ,” पीडित युवाहरूले गुनासो गरे ।
पीडितहरूले आफूहरू आर्थिक, मानसिक तथा सामाजिक रूपमा समस्यामा परेको भन्दै दोषीमाथि तत्काल कानुनी कारबाही गरी रकम फिर्ता गराउन माग गरेका छन् । उनीहरूले वैदेशिक रोजगारीको सपना देखाएर युवाहरूलाई ठगी गर्ने गिरोहबारे समेत गम्भीर अनुसन्धान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

पीडित युवाहरूले Arghakhanchi.com लगायत सञ्चारमाध्यम तथा प्रहरीसमक्ष आफ्नो समस्या राख्दै न्यायका लागि पहल गरिदिन अनुरोध गरेका छन् । साथै उनीहरूले अन्य युवालाई पनि यस्ता प्रलोभन र अवैधानिक आश्वासनबाट सचेत रहन आग्रह गरेका छन् ।

स्थानीयवासीले पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटना बढ्दै गएको भन्दै सम्बन्धित निकायले यस्ता गतिविधिमाथि निगरानी बढाएर कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
#वैदेशिकरोजगारी #युवाठगी #जर्मनी #युरोप #रामबहादुरसुनार #अर्घाखाँची #रुपन्देही #प्रहरीउजुरी #विदेशठगी #युवा #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



