पूर्वलडाकुहरुले बन्द फिर्ता लिएको घोषणा गरेलगत्तै साँझदेखि यातायातका साधन सुचारु भएको छ। बन्दले आम जनताको दैनिक जनजीवन कष्टकर बन्दै गएपछि व्यावसायी तथा नागरिक समाजले खुलाउनको लागि पहल गरेको थियो।
मंगलबार धरानमा भएको वार्तामा उद्योग वाणिज्य संघ, नागरिक समाजले आन्दोलिन लडाकुहरुको माग पूरा गराउन क्षेत्रीय प्रशासन कार्यालयमाफर्त पहल गर्ने सहमति भएपछि बन्द स्थगित गरेको जनमुक्ति सेना संघर्ष समितिले जनाएको छ।
उद्योगी व्यवसायीका साथै नागरिक समाजले बिशेष आग्रह गरेकोले आन्दोलनको स्वरुप फेर्न आफुहरु सहमत भएको संर्घष समितिका पूर्वाञ्चल क्षेत्रीय सदस्य सरोज थापाले बताए। ‘हाम्रो आन्दोलन दल र सरकार केन्द्रीत थियो, तर जनतालाई पनि समस्या हुनेभएकोले स्वरुप परिवर्तन गर्न सहमत भयौ र आजै देखि बन्द स्थगित भएको छ’-उनले भने-‘अब भने हामी जनतालाई असर नपर्ने गरि दलका नेता र सरकारलाई अप्ठ्यारो पार्न आन्दोलन गर्नेछौं।’
अनमिनले अयोग्य ठहर्याएर शिविरबाट बहिर्गमनमा परेका पूर्व लडाकुहरुले अयोग्यको बिल्ला खारेज गर्नुपर्ने, जनमुक्ति सेना सरह आर्थिक प्याकेज दिनुपर्ने, शिविरबाट घर फर्किएपछि झुट्टा मुद्दा लगाइएकाहरुलाई रिहा गर्नुपर्ने र पुर्नस्थापनाको नाममा शान्ति कोषबाट खर्च भएको हिसाबकिताब सार्वजनिक गरिनुपर्ने माग गदै आन्दोलन गरिरहेका छन्। पछिल्लो पटक उनीहरुले फागुन २१ गतेदेखि अनिश्चितकालीन यातायात, बजार बन्द आह्वान गरेका थिए। बन्दले जनजीवन कष्टकर बन्दै गइरहेको थियो।
झापा: लडाकुहरुले साँझ मात्रै बन्द फिर्ताको घोषणा गरे पनि त्यहाँका बजारहरु भने मंगलबार बिहानैदेखि खुलेका थिए। दुई दिनसम्म ठप्प रहेका सवारी साधन र कलकारखाना पनि फाटफुट खुलेका थिए। अपरान्हदेखि भने यातायातका साधनहरु सडकमा बाक्लै गरी चलेका थिए।



