प्रधानमन्त्री असक्षम सावित भए, मार्गप्रशस्त गर्दा राम्रो हुन्छः हर्कराज राई

 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गर्नुभएको छ ।  बिहीवार प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै उहाँले प्रधानमन्त्री साह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा राख्नु भएको हो ।

संसदीय निमयावलीअनुसार सांसदहरुले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने अध्यक्ष राईले रक्षा र गृह मन्त्रालय, सीमा सुरक्षा लगायतका विषयमा आफू र सांसदहरुले राखेका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री साहले संसदको गरिमामाथिनै धावा बोलिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो नियमावलीको नियमको १५ (२) अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरुले उठाउनु भएका, सांसदज्युहरुले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन ? म एउटा प्रश्न राख्न चाहन्छु । मैले २०८३ साल १ महिना २८ गते र २९ गते केही प्रश्नहरु राखेका थिए ।

जो गृह मन्त्रालयसँग सम्बन्धित केही थिए, रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए । केही अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरु थिए । ती प्रश्नहरुको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ भन्ने म माग गर्दछु । किनभने उहाँले अहिले मन्त्रीपरिषद विस्तार गर्नु भएको छैन । गृह मन्त्रालयको जिम्मा पनि उहाँले लिईराखेको कारणले सुकुम्बासीलगायतका शान्तिसुरक्षासँग सम्बन्धित विषयमा पनि मेरो प्रश्नहरु थिए । र, सीमासँग सम्बन्धित लिपुलेकसँग सम्बन्धित विभिन्न खालको प्रश्नहरु हामीले सोधेका छौ । म लगायत अन्य सांसदज्यूहरुले । रक्षा मन्त्रालय पनि उहाँले सम्हालिरहेको कारणले गर्दाखेरी प्रधानमन्त्रीज्यू संसदमा आएर हामीले उठाएका प्रश्नको जवाफ दिनुपर्छ । हाम्रो नियमावली १५ को २ ले त्यो भनिराखेको छ ।

२८ गते राखेको प्रश्न आज गन्दाखेरी १० दिनजति भईसक्यो । उपनियममा भनिएकोकुरा के छ भने नेपाल सरकारको सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने व्यवस्था छ । त्यसो भएको कारणले म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई । । उहाँले यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ?

हामी सबैले यो लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाई राख्नु पर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्नु पर्छ कि पर्दैन ? म यो प्रश्न गर्न चाहन्छु । यदि उहाँ आफनो कर्तव्य पूरा गर्न सक्नु हुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरी राम्रो । उहाँ नेपाली जनता, लोकतन्त्रद्वारा स्थापित नेपाली जनताको मतद्धारा स्थापित संसदप्रति जवाफदेही हुनुहुन्न भने उहाँ को प्रति जवाफदेही हुनुहुन्छ ? शंका गर्ने ठाउँ छ यहाँ । कोही न कोही प्रति त उहाँ जवाफ देही हुनुपर्छ नि ।’ 

 

अध्यक्ष राईले प्रधानमन्त्री साहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ? भनि पटक पटक प्रश्न समेत गर्नुभयो ।

 

 

Nepal life insuranceimagesimagesimages