जेन–जी अन्दोलनमा अत्यावश्यक सवारी साधन जलेकाले आपत्कालीन उद्धारमा समस्या भयोः सांसद चौधरी

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपत्कालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले इटहरीमा पछिल्लो समय लगातार भइरहेका भीषण आगलागीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीमा आगलागी नियन्त्रणका लागि पर्याप्त साधन र पूर्वतयारी नहुँदा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको बताउनु भयो ।

आन्दोलनका क्रममा उपमहानगरपालिकाका दमकलसहितका अत्यावश्यक सवारी साधनहरू जलेपछि हाल इटहरीमा अग्नि नियन्त्रण सेवा ठप्प जस्तै रहेको उहाँले उल्लेख गर्नुभयो । दमकल नहुँदा आगलागीका समयमा नागरिकहरू भगवान् पुकार्नुपर्ने निरीह अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

सांसद चौधरीले इटहरी उपमहानगरपालिकामा दमकलसहित करिव १५ करोड रुपैयाँ बराबरका सार्वजनिक सवारी साधनहरू जलेको जानकारी दिँदै ती साधनहरूको बिमा नगरिएकोमा कडा आपत्ति जनाउनु भयो । जनताको करबाट खरिद गरिएका सरकारी सम्पत्तिको बिमा नगराउनु जनप्रतिनिधिहरूको चरम लापरबाही भएको उल्लेख गर्दै उहाँले दोषीमाथि तत्काल छानबिन गरी कारबाही गर्न माग गर्नुभयो ।

सांसद चौधरीले भन्नुभयो, ‘जेन–जी आन्दोलन पश्चात इटहरीको मुख्य बजार क्षेत्रमा लगातार तीनवटा भीषण आगलागीका घटना भए । दमकलको अभावमा नागरिकहरू आफ्नै आँखा अगाडि आफ्नो सम्पत्ति जलिरहेको हेर्न बाध्य छन् । हिजो मात्रै इटहरीको कस्तूरी कलेजमा विद्युत् सर्ट भई आगलागी भयो, सौभाग्यवश मानवीय क्षति भएन, तर यस्तो अवस्थामा जिम्मेवारी कसले लिने ?’

उहाँले इटहरीमा तत्काल आधुनिक दमकल, एम्बुलेन्स र अन्य आपतकालीन उपकरणहरू उपलब्ध गराई सेवालाई प्रभावकारी बनाउन नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ ।

 

 

Nepal life insuranceimagesimagesimages