आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको फागु पर्व अर्थात होली आज तराईका जिल्लाहरुमा
फाल्गुन २५ गते, २०६८ मा प्रकाशित
आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको फागु पर्व अर्थात होली आज तराईका जिल्लाहरुमा भव्य रुपमा मनाइंदै छ । होलीको अवसरमा रुपन्देहीको भैरहवामा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । भैरहवाको चोचोकमा माटोको भाडामा रंग, अविर, पानीको साथमा पैसा राखेर झुन्ड्याइएको छ । जसलाई स्थानीय भाषामा मट्टका भनिन्छ । होली खेल्ने समूहले एकआपसमा लडेर मट्टकालाई फुटाएर पैसा जित्ने गरेका दृश्य तराईको होलीको विशेष आकर्षण हो ।
रुपन्देही जिल्लाको ग्रामिण भेगमा समेत होली उल्लासपूर्ण साथ मनाइंदै छ । उता नेपालगञ्ज, नवलपरासी, रौतहट, सर्लाही, सिरहा, सप्तरी, बारा लगायतका जिल्लाहरुमा पनि आज होली मनाइंदै छ । हरेक बर्ष राजधानी लगायत पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होलि मनाउने चलन भएपनि यो बर्ष मिथिलाञ्चल लगायत भारतीय सीमावर्ती क्षेत्रहरुमा भोलि मात्रै होली मनाइंदै छ ।
उता, होली पर्वको अवसरमा मिथिलाको लोकसंस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले चित्रगुप्त सेवा समितिले आज जनकपुरमा होली मिलन समारोहको आयोजना गरेको छ ।
कार्यक्रममा मिथिलाको मौलिक संस्कृतिको चर्चा गर्नुको साथै देशको राजनीतिक परिस्थिति, शान्ति र संविधान लेखनमा भएको ढिलाई, संघीयता विरुद्ध भइरहेको षडयन्त्रका बढ्दो महंगी, ईन्धन अभाव अनि लोडसेडिङबाट आमनागरिकले भोग्नु परेको समस्याहरुलाई पनि समेटेर होरिया गाइएको छ । जनकपुर उद्योग वाणिज्य संघले पनि होली पर्वको अवसरमा होली मिलन समारोहको आयोजना गरेको छ ।
उता बाराको सिम्रनगढ गाविसमा गए राति होलिका दहन कार्यक्रममा झडप हुंदा १५ घरमा क्षति पुगेको छ । स्थानीय केही ब्यक्तिहरुले मादक पदार्थ सेवन गरी तोडफोड गरेपछि स्थानीयबासी विरोधमा उत्रिएका छन् ।