प्युठानमा पहिलोपटक लोडसेडिङको घोषणा गरेपछि लगाइएको झिमरुक विद्युत्गृहको ताला अझै खुलेन

प्युठान । लोडसेडिङको निर्णय फिर्ताको माग गर्दै विगत पाँच दिनदेखि झिमरुक विद्युत्गृह दारीमचौर र नेपाल विद्युत् प्राधिकरण प्युठान शाखामा लगाइएको ताला अझैसम्म खोलिएको छैन । बुटवल पावर कम्पनी झिमरुक विद्युत्गृह र विद्युत् प्राधिकरणले प्युठानमा पहिलोपटक लोडसेडिङको घोषणा गरेपछि स्थानीय उपभोक्ताले विद्युत्गृहमा ताला लगाएका थिए ।


झिमरुक जलविद्युत् आयोजनाअन्तर्गत प्युठानमा उत्पादित बिजुली कम्पनीले दुई साता पहिले प्युठान र रोल्पा,अर्घाखाँचीमा दैनिक ६ घन्टा लोडसेडिङ गर्ने भनी शनिबारदेखि लोडसेडिङको तालिका निकालेको थियो । पत्रपत्रिकामा लोडसेडिङ गर्ने भनी सूचना सार्वजनिक भएलगत्तै स्थानीय उपभोक्ताले सङ्घर्ष समिति गठन गरी चरणवद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत विद्युत्गृहमा ताला लगाएका हुन् । सङ्घर्षका लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, उपभोक्ता मञ्च, विद्यार्थी सङ्गठन, उद्योग वाणिज्य सङ्घलगायतले संयुक्तरूपमा समिति गठन गरेका छन् ।

जिल्लावासीको माग पूरा नहुँदासम्म सङ्घर्ष समितिले अनिश्चितकालीन ताला नखोल्ने संयोजक मुक्तिप्रसाद शर्माले बताउनुभयो । लोडसेडिङ नगर्न भनी केहीदिन पहिले प्युठान आउनुभएका प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई ७२ घन्टे अल्टिमेट्मसहितको ज्ञापनपत्र बुझाइएको झन्डै एकसाता बित्नै लाग्दा पनि ताला खोलिएको छैन ।


लोडसेडिङ विरुद्ध सङ्घर्षका लागि पूर्व सांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा ३६ सदस्यीय समिति गठन गरिएको छ । उपभोक्ता लोडसेडिङ गर्न नदिन तालिकाको समयमा पावर हाउसमै धर्ना दिने गरेपछि भार सम्प्रेषण केन्द्रको निर्देशनमा लमहीबाटै प्युठानमा लाइन काट्ने गरिएको छ । बाह्र मेघावाट विद्युत् उत्पादन क्षमता रहेको यस केन्द्रबाट आठ मेघावाट उत्पादन भई खपत हुँदै आएकामा हाल झिमरुक र माडी नदीमा पानीको बहाव घटेर साढे पाँच मेघावाट मात्र विद्युत् उत्पादन सकेको विद्युत् उत्पादक बुटवल पावर कम्पनीले जनाएको छ ।


यसबाट उत्पादित बिजुली स्थापनादेखि प्युठान र रोल्पामा वितरण गरिएको हो भने केही महिना पहिलेदेखि अर्घाखाँची जिल्लामा पनि विद्युत् विस्तार भएको छ । जिल्लामै उत्पादित विद्युत् भएका कारण बेलाबेलामा वितरण प्रणालीमा आउने खराबी बाहेक प्युठान लोडसेडिङमुक्त जिल्ला हो । रासस