

केभिन वार्सले अमेरिकी केन्द्रिय बैंक, फेडरल रिजर्भ सिस्टमको ‘बोर्ड अफ गभर्नर्स’ को अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । ह्वाइट हाउसमा शुक्रवार आयोजित एक विशेष समारोहका बीच उहाँले आफ्नो चार वर्षको कार्यकालका लागि कार्यभार सम्हाल्नुभएको हो ।

सन् १९८७ मा एलन ग्रिनस्प्यानले शपथ लिएपछि राष्ट्रपति निवास (ह्वाइट हाउस) मा शपथ ग्रहण गर्ने वार्स पहिलो ‘फेड’ अध्यक्ष बन्नुभयो । समारोह ह्वाइट हाउसको ‘इस्ट रूम’ मा सम्पन्न भएको थियो । शपथ ग्रहणपछि संक्षिप्त मन्तव्य राख्दै नवनियुक्त अध्यक्ष वार्सले आफूले फेडरल रिजर्भलाई सुधारमुखी ढङ्गले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनियुक्त अध्यक्ष वार्सलाई पूर्ण रूपमा स्वतन्त्र भएर काम गर्न सुझाव दिनुभयो ।

सो अवसरमा राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भको हालैका वर्षहरूको कार्यशैलीप्रति आलोचना समेत गर्नुभयो । ट्रम्पकाअनुसार धेरैको नजरमा फेड आफ्नो मुख्य उद्देश्य र जनादेशबाट विचलित भएको छ । उहाँले फेड पछिल्लो समय जलवायु नीति र ‘डिइआई’ (विविधता, समानता र समावेशीकरण) जस्ता आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका विषयमा केन्द्रित भएको आरोप लगाउनु भयो ।



