

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा विशेष समिति गठन गरेको छ । गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गर्ने निर्णय गरेको हो । मन्त्रालयले टोलीलाई तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय सक्रिय बन्दै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विशेष टोली परिचालन गरिएको पनि मन्त्रालयले जनाएको छ । सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।
यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक सुरक्षा रणनीति लागू गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । स्थिति नियन्त्रण तथा दीर्घकालीन शान्ति कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । विवादको स्थायी समाधानका लागि जनप्रतिनिधि र सरोकारवाला निकायसँग निरन्तर समन्वयात्मक बैठक गर्दै पहल अगाडि बढाइएको पनि मन्त्रालयले उल्लेख गरेको छ । गृह मन्त्रालयले सीमा क्षेत्रमा शान्ति कायम राख्न र नागरिकको जीउधनको सुरक्षा गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको जनाउँदै दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ । यसअघि आजै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।

२- परराष्ट्र मन्त्रालयले आज नेपाल परराष्ट्र सेवा दिवस मनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना व्यक्त गर्दै तीव्र रूपमा परिवर्तन भइरहेको विश्व परिवेशमा परराष्ट्र सेवाको विशिष्ट भूमिका रहेको बताएका छन् । उनले परम्परागत कूटनीतिलाई सशक्त आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसबाट देशको समृद्धि र नेपाली जनताको हित प्रवर्द्धन गर्न सकिने बताए । साथै प्रभावकारी सार्वजनिक कूटनीतिमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गरिमा र छवि अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । मन्त्री खनालले राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय हितको संरक्षण तथा समृद्धि हासिल गर्ने दिशामा परराष्ट्र मन्त्रालयलाई अग्रपङ्क्तिको सुरक्षा कवचका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता पनि उल्लेख गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको परराष्ट्र सेवामा योगदान पुर्याएका पूर्व अधिकारीप्रति सम्मान व्यक्त गरेका थिए । उनले युवा कूटनीतिज्ञ तथा परराष्ट्र सेवामा आबद्ध सबैलाई व्यावसायिक रूपमा सक्षम, बदलिँदो परिस्थितिअनुसार अनुकूल र राष्ट्रिय हित संरक्षण तथा प्रवर्द्धनमा समर्पित हुन आग्रह गरे । कार्यक्रमका क्रममा नवप्रवेशी परराष्ट्र सेवा अधिकारीलाई स्वागत गरिएको थियो भने अवकाशप्राप्त अधिकारी तथा कर्मचारीलाई राष्ट्रप्रति पुर्याएको योगदानका लागि सम्मान गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा मन्त्रालयका अधिकारी, पूर्व मुख्यसचिव, पूर्व परराष्ट्र सचिव, पूर्व राजदूत, परराष्ट्र सेवाका अधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

३- प्रतिकूल मौसमका कारण विभिन्न प्रसारण लाइन क्षेत्रमा रुख ढल्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा प्राविधिक टोलीहरू निरन्तर खटिएर मर्मत तथा पुनः सञ्चालनको काम तीव्र रूपमा अघि बढाइरहेका छन् । जस अन्तर्गत पिलुवा (पथलैया)–चन्द्रनिगाहपुर प्रसारण लाइन अन्तर्गत टावर नम्बर १२२ र १२३ बीच रुख ढलेर लाइन प्रभावित भएकोमा रुख हटाउने काम सम्पन्न भइसकेको र हाल सर्किट चार्ज गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । सोही खण्डको टावर नम्बर १३६ र १३७ बीच ढलेका तीन वटा रुख हटाइसकिएको र लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक काम जारी रहेको बताइएको छ । यस्तै अमलेखगञ्ज–कामाने खण्ड अन्तर्गत टावर नम्बर ४६ र ४७ बीच रुख ढल्दा उच्च क्षमताको तारमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र तार जडानको काम सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
४- वरिष्ठ पत्रकार ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा अभियानले सुशासन, पारदर्शिता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य लक्ष्य बनाएको जनाएको हो । अभियानले भ्रष्टाचार, नातावाद र दण्डहीनताको अन्त्य गर्दै नागरिक अधिकार र सम्मानको सुनिश्चितताका लागि जनअभियान सञ्चालन गर्ने बताएको छ । अभियानले स्थानीय तहको निर्वाचन निर्दलीय बनाउनुपर्ने, सुकुम्बासी तथा भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउनुपर्ने, मिटरब्याज पीडितलाई न्याय दिलाउनुपर्ने, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेको छ । यस्तै, डिजिटल सुरक्षा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, छिटो न्याय प्रणाली, सहकारी तथा बैंकिङ समस्या समाधान र २०४६ सालपछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ ।
५- नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेपछि प्रतियोगितामा लगातार दोस्रो जितसहित सेमिफाइनलमा पुगेको हो । नेपालले माल्दिभ्सलाई २५-१२, २५-०९ र २५-२० को सोझो सेटमा पराजित गरेको हो । यस जितसँगै नेपाल पुल ए बाट सेमिफाइनल पुग्ने पक्का भएको छ । नेपाल यसअघि पहिलो खेलमा भारतसँग ३-२ को सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।

६- रूसले युक्रेनमाथि ठूलो स्तरको हमला गरेको छ । रूसले सयौँ ड्रोन र दर्जनौँ मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार राजधानी किभ मुख्य लक्ष्यमा थियो, तर अन्य क्षेत्रहरू पनि आक्रमणबाट प्रभावित भएका छन्। हमलामा कम्तीमा ८३ जना घाइते भएका छन् भने किभ र आसपासका क्षेत्रमा चार जनाको मृत्यु भएको बताइएको छ । शनिबार-आइतबारको मध्यरातमा भएका विस्फोटका कारण राजधानी क्षेत्रमा लगातार धमाका सुनिएको थियो । आवासीय भवन तथा विद्यालयहरूमा समेत क्षति पुगेको रिपोर्ट आएको छ । रूसको रक्षा मन्त्रालयले भने युक्रेनमाथिको आक्रमणमा ‘ओरेश्निक’ हाइपरसोनिक मिसाइल प्रयोग गरिएको दाबी गरेको छ । मन्त्रालयका अनुसार यी हमला युक्रेनले नागरिक पूर्वाधारमा गरेको आक्रमणको जवाफमा गरिएको हो ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले शुक्रबार स्टारोबिल्स्क शहरस्थित एक छात्रावासमा गरेको आक्रमणमा २१ जनाको मृत्यु भएको आरोप लगाएका छन् । तर युक्रेनको सेनाले भने उक्त स्थानमा गरिएको आक्रमण रूसको विशेष सैन्य इकाइलाई लक्षित गरिएको दाबी गरेको छ । यसैबीच, जेलेन्स्कीले रूसले ठूलो आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका थिए । त्यसपछि नै यो व्यापक हमला भएको हो । ‘ओरेश्निक’ मिसाइललाई ध्वनिको गति भन्दा करिब १० गुणा छिटो चल्ने क्षमतायुक्त हतियार, जसलाई रोक्न अत्यन्त कठिन हुने बताइन्छ ।
७- नेपाल क्रिकेट संघ (क्यान) ले भारत भ्रमणमा जाने नेपाल ए टिमको घोषणा गरेको छ । क्यानले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ए टिमको घोषणा गरेको हो । नेपाल ए ले भारतको उत्तराखण्डमा ४२औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता मे २२ देखि जुन २ सम्म आयोजना हुदैछ । नेपाल ए टिममा अनिल शाह (कप्तान), मयन यादव, तृतराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल रहेका छन् ।

८- सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य रहनेछन् । त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य-सचिवको जिम्मेवारी दिइएको छ । बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भिम बुढा,नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकालको सहभागिता रहेको थियो ।
९- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए । सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद समेत रहेका मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरुप आज काठमाडौँ महानगरपालिका वडा–४ स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका हुन् । सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे । उनले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराए । मन्त्री पोखरेलले देश भकारका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजन लगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गरे । यसअघि सबै विद्यालयलाई समाज बजेट पटाउँदा समस्या उत्पन्न भएको भन्दै उनले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोही अनुरूप बजेट पठाइने उल्लेख गरे । मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिए । मन्त्री पोखरेलले सोही निर्वाचन क्षेत्रको जनप्रतिनिधिको हैसियतले स्थानीयले उठाएका सरोकार भएका विषयको गुनासो सुन्दै तीनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाए । सार्वजनिक सुनुवाइमा स्थानीयले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खाने पानीलगायतका गुनासो गरेका थिए । सो निर्वाचन क्षेत्रमा मेलम्चीको खानेपानी आई नपुगेकाले पानीको समस्या भोगिरहनुपरेको तथा जारको पानी फोहोर भएको गुनासो पोखेका थिए । उनीहरूले विद्यार्थी भर्ना शुल्क, खानेपानीको समस्या, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसकेको, सडक बत्ती, सिसिटिभी व्यवस्थापनका विषय सम्बोधन गर्न मन्त्री पोखरेलसमक्ष अनुरोध गरेका थिए । यस्तै त्रिवि सेवा आयोगको परीक्षा भएको छ महिना भइसक्दा पनि परीक्षाफल प्रकाशित नभएको गुनासो समेत राखेका थिए ।
१०- आगामी जुन ६ देखि १४ सम्म बेल्जियममा हुने इयू टी-२० बेल्जियममा नेपालका गुलशन झा र इशान पाण्डे खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार झा र पाण्डेजेबी बर्गेजबाट प्रतियोगितामा सहभागी हुने भएका छन् । यस प्रतियोगितामा नेपालका आसिफ सेख, लोकेस बम, रोहित पौडेल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, सन्दीप लामिछाने पनि छनौट भएको भए पनि नेपालले सिंगापुरमा जुन ९ सम्म एशियन गेम्स क्वालिफायर्स खेल्नुपर्ने भएपछि नेपालबाट झा र पाण्डेले सहभागिता जनाउने भएका छन् ।

११- सीमा विवादका कारण कर्णाली करिडोर अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । जेठ ५ गते भएको झडपको विषयलाई लिएर बाजुराका युवाहरूले कर्णाली करिडोरअन्तर्गत पिलुचौर–कवाडी सडक खण्ड पुनः अवरुद्ध गरेका हुन् । सडक बन्द भएपछि हुम्ला आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् भने यात्रु तथा ढुवानी प्रभावित बनेको छ । विवाद समाधानका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला पक्षबीच छलफल भइरहेको जनाइएको छ । जेठ ८ गते हिमाली युवा क्लब तथा हिमाली गाउँपालिकाका राजनितिक दल र जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीचको बैठकमा २४ घण्टाका लागि सम्झौता गरिएको थियो तर हाल सम्म उक्त मागहरुमा कुनै पनि कार्यान्वयन नभएको र अझ थप हिमाली गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुको घरहरुमा सोही लुटपाट र तोडफोड गर्ने कार्य गरिरहेको बताउदै दोषीलाई काराही र माग पुरा नभएसम्म कोरिडोर बन्द हुने घोषणा गरिएको छ ।
१२- नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा राष्ट्रिय टिमको घोषणा गरेको छ । क्यानले दिपेन्द्रको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् । पुरुष एशियन गेम्स क्वालिफायर्समा नेपालसहित ८ देशले भाग लिदैछन् । जसमा समुह ए मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् भने समुह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् । प्रतियोगितामा नेपालले ३१ मे मा चीनसँग, जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ । टी-२० फर्म्याटमा खेलिने यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ । एशियन गेम्समा कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।
१३- नेपाल सरकारले चीनमा खानी विस्फोटमा ८२ जनाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चीनको शान्सी क्षेत्रमा भएको दुःखद खानी दुर्घटनामा धेरै जनाले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको बताएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ- ‘चीनको शान्सी क्षेत्रमा भएको दुःखद खानी दुर्घटनामा धेरै जनाले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । हराइरहेका व्यक्तिहरूको सकुशल उद्धार होस् भन्ने प्रार्थना गर्दछौं र यस कठिन घडीमा नेपाल चीनसँग ऐक्यबद्ध रहेको छ ।’ उत्तरी चीनको शान्सी क्षेत्रको खानीमा विस्फोट हुदा यसअघि ९० भन्दा बढीको मृत्यु भएको बताइए पनि चिनियाँ मिडियाले ८२ जनाको मृत्यु भएको बताएका छन् । सो खानीमा करिब २५० कामदारले काम गरिरहेको समयमा विस्फोट भएको बताइएको छ ।
१४- पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलाको खोलाघर क्षेत्रमा डोजर चलेको छ । खोलाघरको सीमाभित्र परेका अस्थायी तथा स्थायी सबै संरचना हटाउन आजदेखि शुरु गरिएको छ । २०८० साल आषाढमा गरिएको प्राविधिक नापजाँचपछि गाडिएका खम्बाका आधारमा सीमांकन गरिएको क्षेत्रभित्र बनेका सबै प्रकारका संरचना हटाइने महानगरले जनाएको छ । महानगरले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यकरणलाई ध्यानमा राख्दै यो अभियानमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ । सरोकारवाला निकाय, नागरिक समाज, राजनीतिक दल, सामाजिक संघसंस्था, टोल विकास समिति, आमा समूह, युवा क्लब, सुरक्षा निकायलगायत सम्पूर्ण नगरवासीलाई सहयोगका लागि पोखरा महानगरपालिकाले हार्दिक अपिल गरेको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार फिर्केखोलाको दायाँ–बायाँ धेरै स्थानमा उत्तर–दक्षिण सडक रहेकाले मोटरेबल करिडोरभन्दा फुट ट्रेल, साइकल लेन, बिहान र साँझ हिँड्ने पैदल मार्ग तथा आकर्षक घुमफिर स्थलका रूपमा विकास गर्नु उपयुक्त हुने विज्ञहरूको सुझावपछि यस्तो निर्णय गरिएको हो । उनका अनुसार लामो छलफलपछि खोलाघरको १० मिटर मापदण्ड घटाएर ६ मिटर कायम गरिएको छ । अब फिर्केखोलालाई प्राकृतिक रूपमा बग्न दिने र त्यसलाई व्यवस्थित रूपमा संरक्षण गर्ने अभियानमा सबै पक्षको साथ रहने अपेक्षा महानगरले गरेको छ ।

१५- तनहुँको दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलित भएका छन् । व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था आजदेखि लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोधमा उत्रिएका हुन् । नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन भन्दै सफा सडकमा पार्किङ निषेधको निर्णय गरेको जेठ ६ गते सूचना प्रकाशित गरेर जानकारी गराएको थियो । साथै केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था समेत लागू गरिएको छ । तर व्यवसायीहरूले पार्किङ निषेधको निर्णयले व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै विरोध गरेका छन् ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको २८ सयले घटेर तोलाको २ लाख ९० हजार ९ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९३ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर ५०१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५११५ मा कारोबार भएको थियो ।
१७- इरानले युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्नो अत्यधिक संवर्धित युरेनियम भण्डार छोड्न तयार भएको दाबि गरिएको छ । न्यूयोर्क टाइम्सका अनुसार इरानले अमेरिका समक्ष उक्त युरेनियम हटाउन सहमति जनाएको हो । तर यसलाई कसरी र कहाँ पठाइने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन । यसबारे थप छलफल हुने बताइएको छ । इरानसँग हाल चार सय किलोभन्दा बढी यस्ता युरेनियम रहेको छ, जसलाई अझ प्रशोधन गरेर परमाणु हतियार बनाउन प्रयोग गर्न सकिने चिन्ता व्यक्त गरिएको छ । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी समझदारी लगभग अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । उनका अनुसार समझदारीको मस्यौदा धेरै हदसम्म तयार भइसकेको छ र अब केवल अन्तिम स्वीकृति बाँकी छ । यसमा होर्मुज जलमार्ग पुनः खोल्ने विषय पनि समावेश रहेको बताइएको छ । यसअघि एक्सियोस समाचार संस्थासँगको टेलिफोन कुराकानीमा ट्रम्पले इरानसँग सम्झौता हुने सम्भावना करिब ५० प्रतिशत रहेको बताएका थिए । उनले या त राम्रो समझदारी हुनेछ, या अमेरिका इरानमाथि निकै कडा कारबाहीमा जान सक्ने विकल्प पनि खुला रहेको बताएका थिए । इरान पक्षबाट भने यी दाबि बारे कुनै प्रतिक्रिया आएको छैन । तर मिडिया रिपोर्टहरुमा अमेरिका र इरान युद्धविराम ६० दिन लम्बाउन सहमत भएको र होर्मुज पनि विस्तारै खोल्ने विषयमा लगभग सहमति भएको दाबि गरिएको छ ।

१८- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । एकीकृत निर्देशन २०८२ संशोधन गर्दै राष्ट्र बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र बाध्य पार्न नपाइने नयाँ व्यवस्था गरेको हो । यसअघि निर्देशन नम्बर १४ को बुँदा नम्बर ३ मा बैंक तथा वित्तीय संस्थाको सञ्चालन समयलाई राष्ट्र बैंकको कार्यसमयसँग मिलाउनुपर्ने व्यवस्था मात्र उल्लेख थियो । जसका कारण बैंक तथा वित्तीय संस्थालाई अतिरिक्त समय वा सार्वजनिक बिदामा सञ्चालन गर्नुपर्दा केवल जानकारी दिने व्यवस्था मात्र थियो भने कर्मचारीको ओभरटाइम वा अतिरिक्त कामबारे स्पष्ट व्यवस्था थिएन । नयाँ संशोधित व्यवस्थामा राष्ट्र बैंकले भनेको छ- ‘इजाजतपत्रप्राप्त संस्थाले कर्मचारीलाई प्रचलित कानूनअनुसार मात्र अतिरिक्त समयमा काममा लगाउनु पर्नेछ । अतिरिक्त समयमा काम गराउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक दिनुपर्नेछ र कर्मचारीलाई बाध्य पार्न पाइने छैन ।’ यस संशोधनसँगै बैंक तथा वित्तीय संस्थाले अब अतिरिक्त समय कर्मचारीलाई काम गराएमा अनिवार्य ओभरटाइम भुक्तानी दिनुपर्ने भएको छ ।
१९- अमेरिकाको ह्वाइट हाउस नजिक भएको गोलीकाण्डपछि अमेरिकी राजधानी क्षेत्रमा ठूलो सुरक्षा सतर्कता अपनाइएको छ । घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको जनाइएको छ । रिपोर्टअनुसार एक संदिग्ध व्यक्तिले ह्वाइट हाउस नजिकको सुरक्षा जाँच चौकीमा पुगेर करिब ३० राउन्ड गोली चलाएको थियो । त्यहाँ अमेरिकी सिक्रेट सर्भिसका सुरक्षाकर्मी तैनाथ थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारी घाइते भएका थिए । उनलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको बताइएको छ । घटनामा एक सर्वसाधारण नागरिक पनि गोली लागेर गम्भीर घाइते भएका छन् । उनलाई आक्रमणकारीको गोली लागेको वा जवाफी फायरिङका क्रममा घाइते भएको भन्नेबारे अझै स्पष्ट भइसकेको छैन । गोलीकाण्डपछि ह्वाइट हाउस परिसरमा तनावको माहोल बनेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । त्यहाँ रहेका पत्रकार र कर्मचारीलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो । सशस्त्र सिक्रेट सर्भिस एजेन्टहरूले सम्पूर्ण क्षेत्र नियन्त्रणमा लिएका थिए भने करिब ४० मिनेटसम्म लकडाउनजस्तै अवस्था बनेको थियो । एफबीआई, सिक्रेट सर्भिस तथा अन्य सुरक्षा निकायले घटनास्थल घेरा हालेर अनुसन्धान सुरु गरेका थिए भने ह्वाइट हाउसको नर्थ लन खाली गराइएको थियो । एफबीआई निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत सुरक्षा निकायले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । सिक्रेट सर्भिसले सामाजिक सञ्जाल एक्समार्फत १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभेन्यु क्षेत्रमा गोली चलेको सूचना प्राप्त भएको जनाएको छ । उक्त क्षेत्र ह्वाइट हाउसबाट करिब एक ब्लक टाढा पर्छ । यस घटनाभन्दा केही दिनअघि मात्रै ट्रम्पकी छोरी इभान्कालाई हत्या धम्की दिइएको थियो । त्यस प्रकरणमा इराकी मूलका एक युवक पक्राउ परेका थिए । उनी इरानी सेनासँग सम्बन्धित रहेको दाबी गरिएको थियो । पक्राउ परेका व्यक्तिसँग इभान्का र उनका पति जारेड कुशनरको फ्लोरिडास्थित घरमा रहेका थिए । यसअघि पनि वासिङ्टन डिसीमा आयोजित वार्षिक ह्वाइट हाउस संवाददाता रात्रिभोजका क्रममा गोली चलेको थियो । कार्यक्रममा राष्ट्रपति ट्रम्प, उनकी पत्नी मेलानिया तथा उपराष्ट्रपति जेडी भान्ससहित उच्च अधिकारी सहभागी थिए ।

२०- पञ्जाव किंग्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको पञ्जावले १८ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले १०१ रनको शतकीय पारी खेलेका थिए भने प्रभसिमरन सिंहले ६९ रन बनाएका थिए । त्यस्तै लखनउका बलर मोहमद शामीले २ र अर्जुन तेन्दुलकरले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो । लखनउका लागि जोश इङलिशले सर्बाधिक ७२ रन बनाए भने आयुष बदानीले ४३, अब्दुल समादले ३७ र कप्तान ऋषव पन्तले २६ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर युजवेन्द्र चहल र मार्को जानसेनले २-२ विकेट लिएका थिए । यो जितपछि पञ्जावको प्लेअफको सम्भावना कायम रहेको छ । पञ्जाको १४ खेलमा १५ अंक भएको छ र चौथो स्थानमा रहेको छ । अब पञ्जावको प्लेअफको तय आज हुने खेलको नतिजाबाट हुने छ । त्यस्तै यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको लखनउले भने यस सिजनका १४ खेलमा १० खेलमा हार बेहोरेको छ ।



