

जोर्डन र भेनेजुएलाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको सात दशकभन्दा बढी समयपछि पहिलो पटक भेनेजुएलाका विदेशमन्त्रीबाट भएको जोर्डन भ्रमणका क्रममा आइतबार चारवटा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

जोर्डनका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री आयमान सफादी र उनका भेनेजुएली समकक्षी इभान गिलबीच राजधानी अम्मानमा भएको भेटवार्तामा कृषि, ऊर्जा, लगानी, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा सहयोग विस्तार गर्नेबारे गहन छलफल भएको थियो । दुई देशका कूटनीतिज्ञहरूले संयुक्त द्विपक्षीय समिति गठन, राजनीतिक परामर्श संयन्त्रको शुरुवात, कृषि सहयोग र कूटनीतिक तालिम अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यसका साथै लगानी संरक्षण, दोहोरो करमुक्ति र भिसा छुटसम्बन्धी आगामी सम्झौताहरूलाई छिटो टुंगोमा पु¥याउन पनि दुवै पक्ष सहमत भएका छन् ।

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री सफादीले मध्यपूर्वमा जारी तनाव कम गर्ने र क्षेत्रमा स्थायित्व पुनर्बहाली गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए । सो क्रममा उनले दुई–राज्य समाधानप्रति भेनेजुएलाले देखाएको समर्थनको प्रशंसा गरे । यसैगरी, विदेशमन्त्री गिलले भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजको तर्फबाट जोर्डनको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो । उहाँले भेनेजुएला जोर्डनका लागि दक्षिण अमेरिका र क्यारिबियन क्षेत्रको प्रवेशद्वार बन्न सक्ने उल्लेख गर्दै दुई राष्ट्रबीचको आर्थिक पूरकतामा जोड दिनुभयो ।

गिलले भेनेजुएलाको बजारमा जोर्डनको प्राविधिक विशेषज्ञता र व्यवसायहरूलाई आकर्षित गर्न आफूहरू उत्सुक रहेको बताउनु भयो । यो उच्चस्तरीय भेटघाट जोर्डनका विदेशमन्त्री सफादीले गत फेब्रुअरीमा गरेको काराकास भ्रमणको निरन्तरता स्वरूप भएको हो, जुन जोर्डनका कुनै पनि विदेशमन्त्रीले भेनेजुएलामा गरेको पहिलो भ्रमण थियो ।



