आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना, तराईमा गर्मी बढ्ने
जेष्ठ १३ गते, २०८३ मा प्रकाशित
काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ ।
विभागका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो दिनको अनुभूति हुने विभागको पूर्वानुमान छ ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने जनाइएको छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
साथै मौसममा आउने परिवर्तनका कारण विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन तथा हावाहुरी र चट्याङबाट जोगिन विभागले आग्रह गरेको छ ।