
अनिश्चितकालीन विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आज देशभर बन्द रहेका निजी तथा सरकारी विद्यालयहरु भोलिदेखि संचालन हुने भएका छन् ।
सभामुख सुवास नेम्वाङको कार्यकक्षमा प्रमुख दलहरुका सचेतक, शिक्षामन्त्री र आन्दोलनकारी शिक्षक प्रतिनिधिहरुबीच आज भएको वार्तामा शिक्षकहरु आन्दोलन स्थगित गर्न सहमत भएका हुन ।
यस्तै चैत २ गतेभित्र शिक्षकहरुले उठाउँदै आएका मागको सम्बोधनको उपाय खोज्ने सहमति पनि भएको छ । वार्तामा शिक्षकका मागको सम्बोधनका लागि ४ बूँदे सहमति भएको छ भने सरकारले आन्दोलनका क्रममा घाइते भएका शिक्षको उपचार गरिदिने भएको छ । अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्ने, सरकारी र निजी विद्यालयमा सेवा सुविधाको विभेद हुन नहुने लगायतका माग राखेर आन्दोलन गर्दै आएका शिक्षक युनियन र शैक्षिक गणतानित्रक मञ्चले आजदेखि अनिश्चितकालीन विद्यालय बन्द आह्वान गरेका थिए । सरकारले भने शिक्षकको माग पूरा गर्नका लागि ऐन नै संशोधन गर्नुपर्ने भन्दै संशोधन विधेयक संसदमा लैजाने निर्णय गरिसकेको छ ।
उक्त विधेयक पारित गर्न सहज वातावरण बनाउने उद्धेश्यले सभामुखको कार्यकक्षमा आज वैठक राखिएको थियो । बार्षिक र एसएलसी परीक्षाको मुखैमा विद्यालय बन्द आह्वान गरेपछि शिक्षक संघसंगठनहरुको सर्वत्र चर्को आलोचना भएको छ भने अभिभावकहरुले विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको भन्दै ठाउँ ठाउँमा शिक्षकहरु विरुद्ध प्रदर्शन समेत गरेका छन् । आज देशभर विद्यालय बन्द रहँदा देशभरका ७५ लाख बालबालिका पठनपाठनबाट बञ्चित हुनपुगे ।