

मुलुकमा गरिबी दर घटेको छ भने मान्छेहरुको बाच्ने आयु बढेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घटेर २०.२७ प्रतिशतमा पुगेको छ । बहुआयामिक गरिबी पनि घटेर १७.४ प्रतिशतमा सीमित भएको छ । स्वास्थ्य सेवामा सुधारसँगै नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको छ ।

बुधवार संघीय संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रश्तुत गरेको सर्वेक्षणले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, ऊर्जा, बैंकिङ तथा पूर्वाधार क्षेत्रमा सुधार देखिए पनि कृषि क्षेत्रमा भने सुस्तता आएको देखाएको छ ।
कुल गार्हस्थ उत्पादन (जीडीपी) मा गैरकृषि क्षेत्रको योगदान बढ्दै जाँदा कृषि क्षेत्रको योगदान घट्दै गएको सर्वेक्षणले देखाएको छ । विशेषगरी धान रोप्ने समयमा परेको खडेरी र भित्र्याउने बेलाको अत्यधिक वर्षाका कारण कृषि उत्पादन प्रभावित भएको उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । गत वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत थियो । मुख्य खाद्यान्न बाली धानको उत्पादन यस वर्ष ४.१६ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । तराई क्षेत्रमा रोपाइँका बेला परेको खडेरी र भित्राउने समयमा भएको अत्यधिक वर्षाले उत्पादनमा नकारात्मक असर परेको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणअनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवाको साक्षरता दर ९४.२ प्रतिशत पुगेको छ भने माध्यमिक तहको खुद भर्ना दर ५१.६ प्रतिशत रहेको छ । सार्वजनिक संस्थानतर्फ आर्थिक वर्ष २०८१÷८२ सम्म सञ्चालनमा रहेका ४५ संस्थानमध्ये २७ वटा मात्रै नाफामा रहेका छन् । १६ वटा संस्थान घाटामा छन् भने २ वटा बन्द अवस्थामा रहेका छन् । गत वर्ष २८ वटा संस्थान नाफामा थिए । सरकारको सार्वजनिक संस्थानमा कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ । यसमध्ये ३ खर्ब ७० अर्ब २५ करोड सेयर लगानी र ४ खर्ब २८ अर्ब ३१ करोड ऋण लगानी रहेको छ ।

आर्थिक सर्वेक्षणअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३६ लाख ४१ हजार पुगेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक आबद्ध भएका छन् । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ६९ लाख नाघेको छ । चालु वर्षमा मात्रै २ लाख ७३ हजारले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ५१ हजारले पुनः श्रम स्वीकृति लिएका छन् । मातृ मृत्युदर घटेर प्रति लाख जीवित जन्ममा १५१ मा झरेको छ भने बाल मृत्युदर ३१ रहेको छ । २१ लाख ४८ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । सरकारी अस्पतालको संख्या ८ हजार ९७६ पुगेको छ । देशभर सडक सञ्जाल १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ । टेलिफोन घनत्व १०३.२ प्रतिशत र इन्टरनेट पहुँच १४५.७ प्रतिशत पुगेको छ । ऊर्जा क्षेत्रमा ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ भने कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ । भारततर्फ २ हजार ९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको उल्लेख छ ।

उद्योग विभाग र लगानी बोर्डमार्फत चालु वर्षमा ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिने र उनीहरूको औसत बसाइ १६.३४ दिन पुग्ने अनुमान गरिएको छ ।
फागुनसम्म बैंक तथा वित्तीय संस्थामा ६ करोड २० लाख निक्षेप खाता र २० लाख ४० हजार कर्जा खाता पुगेका छन् । मोबाइल बैंकिङ प्रयोगकर्ता करिव ३ करोड पुगेका छन् । निक्षेप ६.६४ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूको निष्क्रिय कर्जा अनुपात ५.४२ प्रतिशत पुगेको छ ।
नेप्से परिसूचक २८२०.४५ बिन्दुमा पुगेको छ भने कुल बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब पुगेको छ । डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसंख्याको २६ प्रतिशत हो ।



