संघर्षबाट सफलताको यात्राः नवाफ अलि मिया – फेन्सीदेखि ट्रिपर र चुनढुङ्गा व्यवसायसम्म

 

“संघर्ष नै जीवन रहेछ”भन्ने बुझाइलाई आत्मसात गर्दै निरन्तर परिश्रम र दृढ इच्छाशक्तिका साथ सफल व्यवसायीको सूचीमा आफ्नो नाम स्थापित गर्न सफल व्यक्ति हुन् अर्घाखाँची पाणिनि गाउँपालिका वडा नं. ८ पाली स्थायी घर भई हाल दाङमा बसोबास गर्दै आएका युवा व्यवसायी नवाफ अलि मिया

सानैदेखि पारिवारिक व्यवसायिक वातावरणमा हुर्किएका मिया जीवनका हरेक मोडमा आउने चुनौतीहरूलाई अवसरमा बदल्दै अघि बढेका व्यक्ति हुन्। जीवनका कठिन अनुभवहरू सम्झँदा उनी भावुक हुने गर्छन्। व्यवसायिक यात्रा पारिवारिक पृष्ठभूमिबाट प्रभावित भए पनि उनले आफ्नै मेहनत र संघर्षबाट छुट्टै पहिचान बनाएका छन्।

रोजगारीको खोजीमा धेरै युवा विदेशिने समयमा नवाफ अलि मिया भने नेपालमै केही गर्ने दृढ संकल्पका साथ व्यवसायमा होमिए। सुरुमा उनले दाङ जिल्लामा फेन्सी तथा कस्मेटिक पसल सञ्चालन गर्दै व्यवसायिक यात्रा प्रारम्भ गरे।

पछि व्यवसाय विस्तार गर्दै उनले ट्रिपर व्यवसायमा लगानी गरे, जसले उनको व्यवसायिक जीवनलाई नयाँ दिशा दियो। केही वर्षमै उनी यस क्षेत्रमा स्थापित बन्न सफल भए। त्यसपछि उनले चुनढुङ्गा खानी क्षेत्रमा समेत लगानी विस्तार गरे।

व्यवसाय विस्तारसँगै उनले विभिन्न चुनौती, आरोप–प्रत्यारोप तथा कानुनी र प्रशासनिक कठिनाइहरूको सामना गरे पनि आफ्नो व्यवसायिक यात्रालाई निरन्तर अघि बढाइरहेका छन्।

पत्रकार अनिल नेपालीसँगकोकुराकानीमा उनले आफ्ना अनुभव, चुनौती र भविष्यका योजनाबारे खुलेर धारणा राखेका छन्।

१) तपाईं कुन–कुन व्यवसाय गर्नुहुन्छ ?

👉 मैले फेन्सीबाट सुरु गरेको व्यवसायिक यात्रा अहिले ट्रिपर व्यवसाय हुँदै चुनढुङ्गा व्यवसायसम्म लगानी गर्दै आएको छु।

२) तपाईं व्यवसायिक हिसाबले अब्बल मानिनुहुन्छ, व्यवसायमा आफ्नो पहिचान कसरी बनाउनुभयो ?
👉 हाम्रो समुदाय व्यवसायमा विशेषगरी सक्रिय रहने परम्परा छ। त्यसलाई आत्मसात गर्दै व्यवसायलाई उत्कृष्ट बनाउन रचनात्मक र सकारात्मक तरिकाले फरक शैली अपनाएँ, जसका कारण म व्यवसायमा सफल भएँ।

३) व्यवसाय गर्दा के–कस्ता चुनौतीको सामना गर्नुभयो ?
👉 व्यवसाय गर्दा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ। चुनौती बिना कुनै काम सफल हुँदैन। चुनौती भनेको परीक्षा हो, जसमा सफल हुने कुरा आफ्नो मेहनत र क्षमता अनुसार हुन्छ।

४) नेपालमा लगानीको वातावरण छैन भनेर व्यवसायीहरूले लगानी गर्न छोडेका छन्, तपाईं फेरि नेपालमै लगानी गर्न इच्छुक हुनुहुन्छ किन ?
👉 नेपालमा अवसर नै अवसर छन्। यहाँ केही हुँदैन, केही गर्न सकिँदैन भन्ने गलत भाष्य सिर्जना गरिएको छ। अर्कोतर्फ लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा असुरक्षित वातावरण बनाइन्छ। राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्छ र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ। व्यवसायको प्रमुख उद्देश्य रोजगारी सिर्जना हो।

५) राज्यले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने सट्टा विभिन्न कानुनी अड्चन ल्याएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
👉 लगानीका लागि कानुनी स्थिरता र स्थिर सरकार आवश्यक हुन्छ। स्थिर नीति भएका देशमा आर्थिक विकास तीव्र हुन्छ। राज्यले व्यवसायीलाई हतोत्साहित होइन, प्रोत्साहित गर्नुपर्छ। राज्य सबैको अभिभावक हो, जसले निकास दिने काम गर्नुपर्छ।

६) तपाईं सँग काम गर्दा सहज–असहज अनुभव कस्तो रह्यो ?
👉 म सानैदेखि व्यवसायमा संलग्न छु। १८ वर्षदेखि व्यवसायिक यात्रा गर्दै अहिले ४० वर्षको भएँ। दाङमा ट्रिपर व्यवसाय गर्दा धेरै खुसी थिएँ, तर भूमिकास्थान नगरपालिका वडा नं. ९ मा चुनढुङ्गा खानी सञ्चालन गर्दा विभिन्न आरोप लगाइए, जुन मेरो जीवनको सबैभन्दा दुखद अनुभव हो।

७) अर्घाखाँचीमा चुनढुङ्गा हब बनाउने सरकारी नीति भए पनि व्यवहारमा किन कार्यान्वयन भएन ?
👉 नीति भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा व्यवसायीलाई असहज भएको छ। राजनीतिक दल, सरोकारवाला, सुरक्षा निकाय र स्थानीय सरकारले समन्वय गरेर लगानीमैत्री वातावरण बनाउनुपर्छ।

८) जिल्लामा लगानीकर्तालाई ‘भू–माफिया’ भन्ने आरोप किन लाग्छ ?
👉 प्राकृतिक सम्पदाको संरक्षण स्थानीय अधिकार हो, तर अधिकारसँगै कर्तव्य पनि हुन्छ। लगानीकर्तालाई आरोप लगाउने प्रवृत्तिले विकासमा बाधा पुर्‍याउँछ। लगानीमैत्री वातावरण नभए बाह्य लगानी आउँदैन।

९) तपाईंको व्यवसाय सफल भयो भने कति जनालाई रोजगारी दिन सक्नुहुन्छ ?
👉 यदि राज्यले लगानीमैत्री वातावरण सिर्जना गर्‍यो भने हामी करिब १००० जनासम्मलाई रोजगारी दिन सक्छौं।

समग्रमा , नवाफ अलि मियाको व्यवसायिक यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, संघर्ष, धैर्यता र उद्यमशीलताको उदाहरण पनि हो। सानो फेन्सी पसलबाट सुरु भएको उनको यात्रा आज ट्रिपर व्यवसाय हुँदै चुनढुङ्गा उद्योगसम्म विस्तार भएको छ। विभिन्न चुनौती, आरोप–प्रत्यारोप र कानुनी जटिलताका बीच पनि उनी निरन्तर आफ्नो व्यवसायिक लक्ष्यमा अघि बढिरहेका छन्।

उनको अनुभवले स्पष्ट गर्छ—देशमा स्थिर नीति, लगानीमैत्री वातावरण र राज्य तथा निजी क्षेत्रबीच सहकार्य भएमा नेपालमै ठूलो रोजगारी सिर्जना सम्भव छ। करिब १००० जनासम्मलाई रोजगारी दिने उनको दाबी स्थानीय उद्यमशीलता र आर्थिक सम्भावनाको उदाहरण हो।

यसैसँगै, प्राकृतिक स्रोत साधनको सही, जिम्मेवार र दीगो उपयोग अत्यन्त आवश्यक रहेको सन्देश पनि यस व्यवसायिक यात्राले दिन्छ। विकाससँगै वातावरण संरक्षणलाई सन्तुलनमा राख्दै प्राकृतिक सम्पदाको दोहन होइन, दिगो व्यवस्थापन र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता आज झनै महत्त्वपूर्ण बनेको छ। यसले मात्र दीर्घकालीन आर्थिक समृद्धि र पर्यावरणीय सन्तुलन सुनिश्चित गर्न सक्छ।

 अन्त्यमा, नवाफ अलि मिया जस्ता उद्यमीहरूको यात्रा नेपालमा सम्भावना प्रशस्त छन् भन्ने प्रमाण हो, जहाँ सही नीति, जिम्मेवार लगानी र वातावरणीय सचेतनासहित अघि बढ्न सके देशमै समृद्ध भविष्य निर्माण गर्न सकिन्छ।

 

Nepal life insuranceimagesimagesimages