

काठमाडौँ । ‘सेतो धरती’को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आजदेखि अर्को नाटक ‘महाभारत’ मञ्चन सुरु गर्दैछ ।
‘महाभारत’मा हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गर्दैछन् । साथै वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ । सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मा लगायत अन्य २० जना कलाकारहरू पनि ‘महाभारत’का लागि कान्तिपुर थिएटरको मञ्चमा देखिँदैछन् ।

भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका छन् । नाटकको अनुवाद प्रकाश दाहालले गरेका हुन् भने सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन् ।
आजदेखि असार ७ गतेसम्म हरेक दिन (बुधबार बाहेक) साँझ ५: १५ बजे नाटक मञ्चन हुनेछ । सार्वजनिक बिदाको दिन अतिरिक्त शो दिउँसो १: १५ बजे पनि हुनेछ । नाटक कान्तिपुर थिएटर, गैह्रीधारामा मञ्चन हुनेछ । ५०० र १००० रुपैयाँ टिकट दर तोकिएको नाटक विद्यार्थीहरूले सीमित कोटामा ३०० रुपैयाँमै हेर्न पाउनेछन् । कान्तिपुर थिएटरको वेबसाइट तथा सामाजिक सञ्जालमा दिइएको लिंकमार्फत दर्शकहरूले सजिलै अनलाइन टिकट बुक गर्न सक्नेछन् ।

रेखा थापा, जीवन लुईंटेल, सनिशा भट्टराई, बेनिशा हमाल लगायत कलाकारहरूलाई स्टेज थिएटरमा डेब्यु गराइसकेको यस थिएटरले यसअघि ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ र ‘सेतो धरती’ मञ्चन गरिसकेको छ । यी नाटकमार्फत कान्तिपुर थिएटरले आफ्नो छुट्टै दर्शक वर्ग निर्माण गरिसकेको छ । ‘महाभारत’ मा पनि दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने विश्वास थिएटरले लिएको छ । ‘महाभारत’पछि कान्तिपुर थिएटरले सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित नाटक पनि मञ्चन गर्ने घोषणा गरिसकेको छ ।



