देशभर बदलीसँगै वर्षाको सम्भावना, लुम्बिनीसहित विभिन्न प्रदेशमा हावाहुरीको चेतावनी
जेष्ठ १५ गते, २०८३ मा प्रकाशित
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ।
विभागका अनुसार अहिले देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ।
रातिको समयमा सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले देशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।