लुम्बिनीसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्न सक्ने
जेष्ठ १७ गते, २०८३ मा प्रकाशित
काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव कायम रहेको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ।
रातिको समयमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी तराई, कोशी र बागमती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।