

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला प्रकोपलाई लिएर प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) र युगान्डामाथि लगाइएका यात्रा प्रतिवन्ध तथा सीमा नाका बन्द गर्ने निर्णयहरूमाथि पुनर्विचार गर्न सम्बन्धित देशहरूलाई आग्रह गर्नुभएको छ । कंगोको उत्तरपूर्वी इतुरी प्रान्तको राजधानी एवं इबोला प्रकोपको केन्द्रबिन्दु मानिएको बुनियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक टेड्रोसले यस्ता प्रतिबन्धहरूले महामारी नियन्त्रणका प्रयासहरूलाई थप जटिल बनाउने बताउनु भयो ।

उहाँकाअनुसार यस्ता कदमहरूले पारदर्शितामा ह्रास ल्याउनुका साथै मानवीय जीवन बचाउन आवश्यक पर्ने आपसी विश्वासमा समेत बाधा पु¥याउँछन् ।
हालसम्म यस भाइरसका लागि आधिकारिक खोप वा विशेष औषधि उपलब्ध नभए तापनि बिरामीहरूले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाएमा निको हुन सक्ने महानिर्देशक टेड्रोसले उल्लेख गर्नुभयो । उहाँले इबोला प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्न र वस्तुस्थितिको जानकारी लिन आफूले उक्त क्षेत्रको भ्रमण गरेको बताउनुभयो। हालसम्म कंगोमा इबोलाका १ हजारभन्दा बढी संदिग्ध संक्रमितहरू भेटिएका छन् ।

यसैबीच, छिमेकी मुलुक युगान्डाको स्वास्थ्य मन्त्रालयले राजधानी कम्पालामा दुई नयाँ संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या नौ पुगेको जनाएको छ ।
कंगोका स्वास्थ्य मन्त्री रोजर काम्बाले विगतको अनुभव र भाइरसको प्रकृतिका आधारमा आगामी चारदेखि छ महिनाभित्र महामारी नियन्त्रण गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले हालका लागि इतुरी, उत्तर किभु र दक्षिण किभु प्रान्तमा भाइरसलाई सीमित राख्दै अन्य क्षेत्रमा फैलिन नदिनु नै सरकारको मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री काम्बाले देशको प्रयोगशाला परीक्षण क्षमता सुदृढ गरिएको र परीक्षणका लागि कुनै पनि नमुना बाँकी नरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म ९ सय नमुना परीक्षण गरिएकोमा २६० जनामा संक्रमण पुष्टि भएको छ। कंगोले अब दैनिक २ सयदेखि ३ सय नमुना परीक्षण गर्न सक्ने क्षमता विकास गरेको समेत उहाँले बताउनु भयो ।



