सन् २०२६ को फिफा विश्वकपलाई लक्षित गर्दै लस एन्जलसमा आधुनिक यातायात प्रणालीको शुरुवात

 

सन् २०२६ को फिफा विश्वकप जस्ता ठूला विश्वव्यापी खेलकुद प्रतियोगिताहरूलाई मध्यनजर गर्दै लस एन्जलस काउन्टी मेट्रोपोलिटन ट्रान्सपोर्टेसन अथोरिटी (एलए मेट्रो) ले नयाँ मोबाइल एप र ‘कन्ट्याक्टलेस’ (सम्पर्करहित) भाडा भुक्तानी प्रणाली सार्वजनिक गरेको छ ।

Nepal life insurance

एलए मेट्रोका अधिकारीहरूकाअनुसार यी नयाँ प्रविधिहरू स्थानीय बासिन्दा र अन्तर्राष्ट्रिय पर्यटक दुवैका लागि थप सहज, सुविधाजनक र प्रयोगकर्ता–मैत्री यातायात प्रणाली सुनिश्चित गर्ने उद्देश्यले ल्याइएका हुन् । नयाँ भुक्तानी प्रणालीअन्तर्गत यात्रुहरूले मेट्रोका गेट र बसहरूमा रहेका मेसिनमा कन्ट्याक्टलेस डेबिट वा क्रेडिट कार्ड, डिजिटल वालेट र अन्य ‘वेयरेबल’ उपकरणहरू सिधै छोएर भाडा तिर्न सक्नेछन् । यस प्रणालीमा एउटै कार्ड प्रयोग गरेर थप चार जनासम्म यात्रुको भाडा भुक्तानी गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

मेट्रो सेवा र अन्य सहभागी क्षेत्रीय यातायात निकायहरूमा लागू गरिएको यो नयाँ प्रणालीले यात्रुहरूको प्रतिक्षा समय घटाउनुका साथै बस तथा रेल चढ्ने प्रक्रियालाई थप द्रुत बनाउने विश्वास एलए मेट्रोले लिएको छ ।
भुक्तानी प्रणालीसँगै एलए मेट्रोले आफ्नो पहिलो आधिकारिक मोबाइल एप पनि सार्वजनिक गरेको छ। यस एपमार्फत यात्रुहरूले बस र रेल सेवाको रुट योजना बनाउनुका साथै सेवा सम्बन्धी ‘रियल–टाइम’ (वास्तविक समय) सूचना र अपडेटहरू प्राप्त गर्न सक्नेछन् ।

एलए मेट्रोकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टेफनी विगिन्सले नयाँ प्रणालीको उद्देश्य दैनिक यात्रु र ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि लस एन्जलस आउने पर्यटकहरूलाई झन्झटमुक्त र सुलभ यात्राको अनुभव प्रदान गर्नु रहेको बताउनु भयो ।

 

 

 

Nepal life insuranceimagesimagesimages