

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा संसदमा दिएको बिबादस्पद अभिव्यक्तिको बिरोध जनाएको छ ।
पार्टीका प्रवक्ता खडगप्रसाद विश्वकर्मा प्रकाण्डले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भनाइ राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता विरुद्ध रहेकोसमेत जनाएका छन् ।

हिजो अर्थात जेठ १७ गते संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्ति आपत्तिजनक र खेदजनक रहेको प्रकाण्डद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

माओवादीले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता लगायतका दर्जनौं नेपाली भूमि भारतीय पक्षबाट मिचिएको दाबी गर्दै प्रधानमन्त्रीको पछिल्लो भनाइले भारतीय विस्तारवादलाई सहयोग पुगेकाे आरोप लगाएको छ। विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त कदमलाई नवदलाल पुँजीवादी र राष्ट्रघाती चरित्रको संज्ञा दिँदै मााओवादीले यसले आम देशभक्त नेपालीको भावनामा चोट पुर्याएको उल्लेख गरिएको छ।
प्रधानमन्त्रीको यस अभिव्यक्तिको सशक्त प्रतिवाद गर्न भन्दै पार्टीले आजै साँझ ७ बजे देशभर मशाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ।




