

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सार्वजनिक कूटनीति तथा जनसम्पर्क मामिला सम्बन्धी अमेरिकी उपविदेशमन्त्री सराह बी रोजर्सले भेटवार्ता गरेकी छन् । सोमबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले लगानी, व्यापार, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने बारे दुई पक्षबीच विचार आदानप्रदान भएको जनाएको छ ।
२- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा करूणा कटुवाललाई नियुक्त गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगन थापाले कटुवाललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । सभापति थापाले धनकुटाकी कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

३- पूर्व सभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि एक लाख धरौटी लिएर छोड्न आदेश गरेको हो । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहितलाई ७ करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीको आरोपमा पूर्व सभामुख महरासहित २८ जना र एक कम्पनीविरुद्ध गत चैत्र २६ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।
४- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ १६ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालिबजार, मालती मंगले, मितज्यू, काजी र लाइफ ड्यामेजको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ । जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले अहिलेसम्म ७ करोड ९० लाख ३१ हजार ४६७ कमाई गरेको छ । त्यस्तै यस फिल्मले २ लाख ६९ हजार २०२ टिकट बिक्री गरेको छ । त्यस्तै बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा ४ करोड २७ लाख ८४ हजार ४४५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५४ हजार ३४ टिकट बिक्रि भएका छन् । त्यसैगरी बैशाख २५ गते नै प्रदर्शनमा आएको रामकृष्ण ढकालले निर्माण गरेको फिल्म मालती मंगलेले भने आशा गरे अनुसार दर्शकको मन जित्न सकेन । फिल्मले केवल ५१ लाख ७३ हजार ७९३ कमाई गरेको छ भने केवल १६ हजार १८८ टिकट बिक्री भएको छ । त्यसैगरी जेठ ८ गतेदेखि प्रदर्शनमा आएको मितज्यूले एक करोड २० लाख ५९ हजार ८२ कमाई गरेको छ । फिल्मका अहिलेसम्म ४१ हजार २४८ टिकट बिक्री भएका छन् । त्यस्तै जेठ ८ गतेदेखि नै प्रदर्शनमा आएको काजीले भने केवल ४० लाख ८८ हजार १७५ कमाई गरेको छ । त्यस्तै जेठ १ गते रिलिज भएको लाइफ ड्यामेजले ३३ लाख २६ हजार कमाएको छ ।

५- दैलेखको भैरवी गाउँपालिका–०७ कालिगौँडास्थित भित्री सडक खण्डमा डबल क्याप बोलेरो दुर्घटना ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१ ००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो ब्रेक फेल भई सडकदेखि करिब चार सय मिटर तल खसेर दुर्घटना हुदा घाइते भएका ८ जना मध्ये तीन जनाको मृत्यु भएको हो । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
६- इरानका संसद् अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाकर गालिबाफले अमेरिका युद्धविराम सम्झौताको पालना गर्न असफल भएको आरोप लगाएका छन् । उनले अमेरिका इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्नुका साथै आफ्नो सहयोगी इजरायललाई लेबनानमा सैन्य आक्रमण बढाउनबाट पनि रोक्न नसकेको आरोप लगाएका हुन् । गालिबाफले इरानी बन्दरगाहमाथि जारी समुद्री नाकाबन्दी अमेरिका युद्धविरामका सर्तहरूको पालना नगरेको स्पष्ट प्रमाण भएको बताएका छन् । उनले हरेक निर्णयको मूल्य हुने र त्यसको हिसाब एक दिन चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् । गालिबाफले इरानी बन्दरगाहको नाकाबन्दी कायम राख्नु र लेबनानमा इजरायलको सैन्य कारबाही रोक्न नसक्नुले अमेरिका युद्धविरामप्रति प्रतिबद्ध नरहेको देखाएको दाबी गरेका छन् । उनले समय आएपछि सबै कुरा स्पष्ट हुने पनि बताएका छन् । यता इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले होर्मुज जलडमरूमध्यमाथिको सार्वभौम अधिकार केवल इरान र ओमान सँग रहेको बताएका छन् । उनले उक्त महत्वपूर्ण समुद्री मार्गमा जहाजको आवागमन तथा जलयात्रा व्यवस्थापनका लागि इरानले नयाँ प्रणाली लागू गरेको जानकारी दिएका छन् । इरानी सरकारी प्रसारण संस्थाका अनुसार गरीबाबादीले होर्मुज क्षेत्रमा समुद्री यातायात र जलयात्रा नियन्त्रणसम्बन्धी नयाँ व्यवस्था ओमानसँगको सहकार्यमा सञ्चालन भइरहेको बताएका छन् । साथै उनले ओमानलाई अमेरिकाको दबाब वा धम्कीसमक्ष नझुक्न आग्रह गरिएको पनि उल्लेख गरेका छन् ।
७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्य सभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका थिए । सो अवसरमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेपनि उपस्थित रहेका थिए । लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य भारत गएका छन् । भारतीय सत्तारुढ दल भाजपाले लामिछानेको भारत भ्रमणको क्रममा पार्टीअध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूसँग भेटवार्ता हुने र पार्टी-पार्टी सम्बन्ध विस्तारमा सहयोग पुग्ने उल्लेख छ । यसअघि आइतबार नै रास्वपाले पनि विज्ञप्ति जारी गर्दै सभापति लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी गराएको थियो । रास्वपा प्रवक्ता मनीष झाले लामिछाने शुक्रबारसम्म भारतमा रहने र व्यक्तिगत भ्रमणका रूपमा अयोध्यासमेत पुग्ने कार्यक्रम रहेको जानकारी दिएका थिए ।
८- सभामुख डिपी अर्यालले आइतबार प्रतिनिधि सभामा भएको अमर्यादित व्यबहार र भौतिक नोक्सानीको छानबिन गर्न समिति गठन गरेका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् । सभामुख अर्यालले आइतबारको बैठकमा संसद बैठकमा अमर्यादित व्यबहार भएको र केहि भौतिक नोक्सानी समेत भएको भन्दै सो विषयमा छानबिन गर्न समिति गठन गरेको र सात दिन भित्र प्रतिवेदन आएपछि कारवाही अगाडी बढाउन सकिने जानकारी दिएका छन् । विपक्षी दलहरुले आजको दोस्रो बैठक समेत अवरोध गरेपछि बैठक भोली सम्मका लागि स्थगित भएको छ ।
९- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही प्रवृत्ति भएको टिप्पणी गरेका छन् । बिहीबारदेखि लुम्बिनी प्रदेशस्तरीय जरा अभियानको सुरुवात गर्दै सभापति थापाले तथ्य, प्रमाण र दस्तावेजबिना प्रधानमन्त्रीले बोल्नु राष्ट्रहितविपरीत रहेको बताउदै २०७४ सालमा सबै दल मिलेर संसदबाट एकमतले पारित गरेको नेपालको नक्सा र त्यसका आधारहरूलाई नजरअन्दाज गरिनु देशद्रोही प्रवृत्ति भएको बताए । सभापति थापाले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपालीको शिर निहुराएको र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने दुष्प्रयास गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीले तत्काल संसद्मा उपस्थित भएर आफ्नो गल्ती स्वीकार गरी जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।

१०- नेप्सेमा आज गिरावट आएको छ । बजेटपछिको पहिलो कारोबार दिन आज सोमबार नेप्से २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ मा कारोबार भएको थियो । आज निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रो र नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर १४.९९ प्रतिशतले बढेको छ आज सबै भन्दा बढी बुङ्गल हाइड्रोको शेयर १३.२० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ४ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको ३७ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
११- श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सीमा बारे यस्तो जवाफ दिने आफुलाई लागेको भए त्यस्तो प्रश्न नै नसोध्ने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले आफूले हिजो प्रश्न सोधेकोप्रति आत्मग्लानि प्रकट गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाएर मात्र नपुग्ने र प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने माग गरेका छन् । उनले भने- ‘यदि यस्तो भ्रामक र तथ्यहीन जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने लागेको भए म त्यो प्रश्न सोध्ने थिइनँ । मलाई आत्मग्लानि भइरहेको छ ।’ राईले आइतबारको बैठकमा सोधेको लिपुलेक लिम्पियाधुरा सम्बन्धी प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति विवादित बनेको छ ।
१२- नेकपा एमालेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र आमनेपाली जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न माग गरेको छ । एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको तथा त्यसले नेपालको स्थापित अडान, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको उल्लेख गर्दै माफी मागेर मार्फ प्रशस्त गर्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ- ‘प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आमनेपाली जनतासँग माफी माग्दै कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ एमालेले राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकार स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएको छ । साथै एमालेले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा २०७७ सालमा ऐतिहासिक तथ्य, प्रमाण, नापनक्सा तथा सन्धि–सम्झौताका आधारमा जारी गरिएको स्मरण गराउँदै उक्त नक्सालाई संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरी संविधानको अनुसूचीमा समावेश गरिसकेको जनाएको छ ।
१३- विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसद्मा दिएको अभिव्यक्तिलाई लिएर आज संसद् अवरोध गर्ने निर्णय गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेससहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो । श्रम संस्कृति पार्टी भने बैठकमा सहभागी नभएको बताइएको छ । कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले प्रस्टीकरण दिनुपर्ने र संसद्समक्ष माफी माग्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । उनले प्रधानमन्त्रीले जवाफ नदिउन्जेलसम्म संसद्मा अवरोध जारी रहने बताएका छन् । विपक्षी दलहरुले संसदको रेकर्डबाट प्रधानमन्त्रीको अभिव्यक्ति नहटाएसम्म संसद चल्न नदिने निर्णय समेत गरेका छन् ।

१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गर्दै रिट दायर गरेका हुन् । उनले बोहोराले आफू गत भदौ २३ र २४ गते अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन कक्षमा उपचारका लागि राखिएको बताउदै जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । आयोगले पर्याप्त प्रमाण र तथ्यको अध्ययन नगरी आफ्नो नाम उल्लेख गरेको भन्दै अन्याय भएको महसुस भएपछि न्यायको खोजीका लागि अदालत पुगेको बताएका छन् । आयोगको प्रतिवेदनमा बोहोरासहित रास्वपा सभापतिलगायत रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
१५- नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत रहेको भन्दै घोर निन्दा र भर्त्सना गरेको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदल–बदल दुई फरक विषय भएको उल्लेख गरिएको छ । कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भूभागमा आपसी सहमति वा कानुनी अधिकारबिना भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिने विज्ञप्तिमा उल्लेख छ । नेकपाले भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गर्दै नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात भएको दाबी गरिएको छ । सुगौली सन्धि तथा प्राचीन सीमा स्तम्भका आधारमा निर्धारण भएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमारेखाका कारण सीमावर्ती नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई कब्जा नभई जग्गाको भोगचलनको अवस्था मानिनुपर्ने पार्टीको भनाइ छ । देशको कार्यकारी प्रमुखले संसद्को रोस्ट्रमबाट नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीले नेपाल र भारतबीच सीमा विवाद रहेको र त्यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा आफूहरू स्पष्ट रहेको जनाएको छ । तर हालसम्म नेपालले भारतको कुनै पनि भूभाग कब्जा नगरेको तथ्यका आधारमा मात्रै नेपालको दाबी कायम रहेको बताइएको छ । यही आधारमा लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा जारी गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूह को प्रतिवेदन भारतले हालसम्म सार्वजनिक नगरेको उल्लेख गर्दै पार्टीले यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीबाट व्यक्त धारणा राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुग्ने खालको भएको जनाएको छ । नेकपाले प्रधानमन्त्रीको उक्त भनाइ तत्काल सच्याउन, संसद्को अभिलेखबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन सरकारसँग जोडदार माग गरेको छ ।
१६- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व १५ खर्ब ८० अर्ब उठाउने महत्वाकांक्षी उद्धेश्य राखेको स्पष्ट गरेका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट बारेको छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले बजेटमा राजश्व महत्वकांक्षी रुपमा नै १५ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखिएको स्पष्ट गरेका हुन् । उनले आफुहरुले आटेर नै क्रान्त्रिकारी व्यवस्था बजेटमा गरेको बताउदै पाँच बर्षमा के के गर्ने भन्ने योजना बनाएर नै यस बर्षको बजेट आएको बताए । उनले पहिलो बर्ष स्रोत सुनिश्चित गर्ने चुनौती रहेकोले सोचे जातिका सबै योजना समावेश गर्न नसकेको बताए । अर्थमन्त्री डा. वाग्लेले पछिल्लो १० बर्षमा जीडीपी अनुसारको सबै भन्दा कम बजेट ल्याएको दाबि गर्दै ठुलो बजेट ल्यायो भनेर आलोचना गर्नेहरुलाई आँकडा हेर्न आग्रह गरे । उनले एआई सेन्टर स्थापना गर्ने भन्दै यस विषयमा कसैले कल्पना नगरेको काम सरकारले गर्न लागेको दाबि गरे । अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन मिशन मोडमा गर्ने बताउदै यसमा सरकार निजी क्षेत्र र सबै सरोकारवालाले सहयोग गर्न आग्रह समेत गरेका छन् । उनेल सबैलाई हाउगुजी र अतिरन्जनामा नलाग्न आग्रह गर्दै कसैले नगरेको आँट सरकार गरेको बताए ।

१७- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख १० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ५३५५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५३४५ मा कारोबार भएको थियो ।
१८- भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो । समुह ए बाट नेपालले दुवै खेल जितेर समुह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको छ भने समुह ए बाट भुटान २ खेलमा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह बी बाट भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो । त्यस्तै बंगलादेश २ खेलमा एक जित र एक हारसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ । अब पहिलो सेमिफाइनलमा नेपाल र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा भारत र भुटान खेल्ने भएका छन् । सेमिफाइनलका खेल बुधबार हुने छन् । त्यस्तै फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।
१९- इरानका राष्ट्रपति मसुद पेजेशकियानले पदबाट राजीनामा दिएको दाबी गरिएको छ । इरान इन्टरनेसनलको एक प्रतिवेदनअनुसार उनले देशका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईलाई आफ्नो राजीनामापत्र पठाएका छन् । प्रतिवेदनमा पेजेशकियानले आफ्नो पत्रमा देशको सत्ता अहिले पूर्ण रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डरहरूको नियन्त्रणमा पुगेको उल्लेख गरेको दाबी गरिएको छ । उनले फेब्रुअरीमा अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता आफ्नो सरकारलाई महत्वपूर्ण निर्णय प्रक्रियाबाट लगभग बाहिर राखिएको पनि बताएका छन् । पेजेशकियानका अनुसार सरकारलाई ठूला निर्णयहरूमा सहभागी नगराइएकाले वास्तविक नियन्त्रण सैन्य नेतृत्वको हातमा पुगेको छ । यद्यपि सर्वोच्च नेता मोज्तबा खामेनेईले उनको राजीनामा स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा अहिलेसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक भएको छैन । यससँगै राष्ट्रपति पेजेशकियानको राजीनामाबारे विरोधाभासी दाबीहरू सार्वजनिक भएका छन् भने यसको आधिकारिक पुष्टि भने अझै हुन सकेको छैन ।

२०- रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो पटक आइपिएलको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंगलुरुले आइपिएलको उपाधि जितेको हो । गुजरातले दिएको १५६ रनको लक्ष्य पछाएको बैंगलुरुले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बैंगलुरुको जितमा विराट कोहलीले अविजित ७५ रन बनाएका थिए भने वेंकटेस अय्यरले ३२, टिम डेभिडले २४ र रजत पाटीदारले १५ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १५५ रन बनाएको थियो । गुजरातका लागि वाशिंटन सुन्दरले ५० रन बनाएका थिए भने निशान्त सिन्धुले २०, जोस बटलरले १९ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका रासिख सलामले ३ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र जोस हजेलवूडले २-२ विकेट लिएका थिए । योसँगै बैंगलुरुले लगातार दोस्रो पटक आइपिएलको उपाधिको जितेको छ । फाइनल खेलको प्लेयर अफ द म्याच विराट कोहली बनेका छन् भने प्रतियोगिताको प्लेयर अफ द सिरिज वैभव सुर्यबंशी बनेका छन् ।



