अगस्टअघि ‘एल–निनो’ सक्रिय हुन सक्ने संकेत : विश्व मौसम विज्ञान सङ्गठनको चेतावनी, असर हरेक पटक फरक हुने

 

अर्घाखाँची डटकम । 

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (WMO) ले ‘एल–निनो’ प्रणालीको प्रभाव हरेक पटक फरक–फरक हुने भएकाले यसलाई एउटै ढाँचामा बुझ्न नहुने चेतावनी दिएको छ। सङ्गठनले आउँदो अगस्ट महिनाको अन्त्यअघि ‘एल–निनो’ विकास हुन सक्ने प्रारम्भिक संकेत समेत सार्वजनिक गरेको छ।

डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख विल्फ्रान मोउफोमा ओकियाका अनुसार ‘एल–निनो’ उष्णकटिबन्धीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम असामान्य रूपमा बढ्दा विकसित हुने जलवायु प्रणाली हो, जसले विश्वव्यापी मौसम चक्रमा व्यापक प्रभाव पार्ने गर्दछ।

विशेषज्ञहरूका अनुसार ‘एल–निनो’ सक्रिय हुँदा मनसुनी वर्षा कमजोर हुने, लामो समयसम्म सुक्खा अवस्था रहन सक्ने तथा कृषि उत्पादनमा प्रतिकूल असर पर्ने जोखिम बढ्छ। यद्यपि यसको प्रभाव देश, क्षेत्र र अन्य मौसमी प्रणालीसँगको अन्तरक्रियाका आधारमा फरक–फरक देखिन सक्छ।

डब्ल्यूएमओले यस पटक मध्यमदेखि बलियो स्तरको ‘एल–निनो’ विकसित हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। सङ्गठनका अनुसार जलवायुसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने जिम्मेवारी डब्ल्यूएमओको भए पनि त्यसको विश्लेषण र जोखिम व्यवस्थापन सम्बन्धित देशहरूले नै गर्नुपर्ने हुन्छ।

सन् २०२३–२०२४ मा देखिएको ‘एल–निनो’ का कारण पनामामा वर्षा कमी भई नहर सञ्चालन प्रभावित भएको थियो, जसले विश्वव्यापी व्यापारमा समेत असर पारेको उदाहरण डब्ल्यूएमओले प्रस्तुत गरेको छ।

सङ्गठनले विगतका घटनाको तुलनामा अहिले विभिन्न देशहरूको पूर्वतयारी क्षमता बढ्दै गएको उल्लेख गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि समयमै योजना बनाउन आग्रह गरेको छ।


#एलनिनो #ElNino #मौसम #WeatherUpdate #ClimateChange #WMO #WeatherNews #Monsoon #ClimateAlert #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages