

गाजा शहरको पश्चिममा अवस्थित गाजा बन्दरगाह क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।

प्यालेस्टिनी स्रोतहरूले यस घटनाको पुष्टि गरेका हुन् । प्रत्यक्षदर्शीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार इजरायली हेलिकप्टरले विस्थापित व्यक्तिहरू र आगन्तुकहरूको ठूलो उपस्थिति रहेको बन्दरगाह क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । चिकित्सा स्रोतकाअनुसार एम्बुलेन्समार्फत दुई जनाको शव र २५ जना घाइतेलाई गाजा शहरको एक अस्पतालमा पु¥याइएको छ । घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । विद्युत, पानी र खाद्यान्न जस्ता आधारभूत आवश्यकताको चरम अभावका बीच गाजा बन्दरगाह क्षेत्र हाल विस्थापित परिवारहरूको प्रमुख आश्रयस्थल बनेको छ ।

सो क्षेत्रमा समुद्री किनारैभरि दर्जनौं अस्थायी पालहरू निर्माण गरिएका छन् । यस हवाई आक्रमणका बारेमा इजरायली सेनाले हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन ।
पछिल्ला दिनहरूमा इजरायलले गाजा पट्टीका आवासीय भवन, विस्थापितका पाल र सार्वजनिक स्थलहरूलाई लक्षित गरी हवाई आक्रमण तिब्र बनाएको छ । गाजाको स्वास्थ्य निकायकाअनुसार अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएयता हालसम्म इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको कुल संख्या ७२ हजार ९ सय ३९ पुगेको छ ।



