मृत्यु भएको करिब चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि हुने

 

काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम रेजाको दरगाह परिसर नजिकै दफन गरिने तयारी गरिएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कोरका अनुसार उनको अन्तिम बिदाइ २१ जुनतिर हुन सक्ने बताइएको छ । २८ फेब्रुअरीमा तेहरानस्थित निवासमा भएको अमेरिका–इजरायलको हवाई आक्रमणमा उनको मृत्यु भएको थियो ।

पहिले उनको राजकीय अन्त्येष्टि ४ मार्चमै गर्ने योजना थियो तर युद्धका कारण स्थगित गरिएको थियो। अब तेहरान, कुम र मशहदमा हुने अन्त्येष्टि कार्यक्रममा करिब २ करोड मानिस सहभागी हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन्। जनताका लागि तीन दिनसम्म अन्तिम श्रद्धाञ्जली दिने व्यवस्था मिलाइएको छ ।

मुख्य अन्त्येष्टि समारोह तेहरानमै हुने बताइएको छ, जुन कम्तीमा २४ घण्टा चल्न सक्ने अनुमान छ । त्यसपछि पार्थिव शरीरलाई धार्मिक शहर कुम हुँदै मशहद पुर्‍याइनेछ। त्यस क्रममा सडकमार्गबाट जनताले अन्तिम दर्शन गर्न सक्ने व्यवस्था पनि मिलाइने भनिएको छ ।

तेहरान नगर निगमका एक अधिकारीका अनुसार यात्राको क्रममा कुम र मशहदमा पनि विशेष कार्यक्रम हुनेछन् । यसको सम्पूर्ण जिम्मेवारी इस्लामिक रिभोलुसनरी गार्ड कोरले लिएको बताइएको छ ।

विश्लेषकहरूका अनुसार यदि २ करोड मानिस सहभागी भए यो सन् १९८९ मा इस्लामिक गणतन्त्रका संस्थापक आयातुल्ला रुहोल्लाह खोमेनीको अन्त्येष्टिभन्दा ठूलो हुनेछ। त्यतिबेला करिब १ करोड मानिस सहभागी भएका थिए ।

त्यो समयमा भीड अत्यधिक हुँदा भागदौड मच्चिएको थियो, जसमा कम्तीमा ८ जनाको मृत्यु र हजारौं घाइते भएका थिए। यस पटक पनि अधिकारीहरू ठूलो भीड व्यवस्थापन गर्न र दुर्घटना रोक्न तयारीमा जुटेका छन् ।

इस्लामिक परम्परामा सामान्यतया मृत्यु भएको एक–दुई दिनमै अन्त्येष्टि गरिन्छ। तर यस पटक युद्धको अवस्था र ठूलो भीड व्यवस्थापनको कारण ढिलाइ भएको अधिकारीहरूको भनाइ छ । मशहद ईरानको प्रमुख धार्मिक शहर हो । यहाँ इमाम रेजाको दरगाह रहेको छ, जसलाई शिया मुसलमानहरू अत्यन्त पवित्र स्थल मान्छन् ।

इमाम रेजा शिया परम्पराका आठौँ इमाम मानिन्छन्। उनको दरगाह संसारकै ठूलो धार्मिक स्थलमध्ये एक हो, जहाँ हरेक वर्ष करोडौँ श्रद्धालु पुग्छन् । त्यही कारण खामेनेईलाई त्यहीँ दफन गर्दा उनको नाम शिया परम्पराका अत्यन्त सम्मानित धार्मिक व्यक्तित्वसँग जोडिने बताइन्छ ।

गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले ईरानका विभिन्न रणनीतिक क्षेत्रमा ठूलो सैन्य कारबाही गरेका थिए। तेहरानसहित धेरै ठाउँमा हवाई आक्रमण भएको थियो । त्यही क्रममा सर्वोच्च नेताको निवास र कार्यालय पनि निशाना बनाइएको दाबी गरिएको छ। आक्रमणका बेला उनी बंकरमा रहेका भए पनि गम्भीर रूपमा घाइते भई पछि मृत्यु भएको बताइएको छ । त्यस आक्रमणमा उनीसँगै धेरै वरिष्ठ सैन्य अधिकारी, सुरक्षा निकायका प्रमुख र अन्य उच्च अधिकारीहरूको पनि मृत्यु भएको दाबी गरिएको छ। परमाणु कार्यक्रमसँग सम्बन्धित केही वैज्ञानिकको पनि ज्यान गएको थियो ।

 

 

Nepal life insuranceimagesimagesimages