

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ । त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।

२- नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल गरेको जानकारी दिएका हुन् । राणाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समयमा पार्टीको महाधिवेशन नगरेको र विधान अनुसार हिजो (जेठ १९) गतेदेखि पार्टीले विधानिकता गुमाएको दाबि गरेका छन् । उनले भनेका छन्- ‘सुझाव समितिले गत निर्वाचनलाई मध्यनजर गरि निर्वाचन ढिला भएमा मंसिरमा र छिटो भएमा यही जेष्ठ महिनाभित्र महधिवेशन सम्पन्न गर्न सुझाव दिएको थियो । उक्त सुझाव कार्यसम्पादन एवं केन्द्रीय कार्यसमितिले पारित गर्दै केन्द्रीय कार्यसमितिको समयावधि ६ महिना थप गरेको थियो । केन्द्रीय कार्यसमितिले थप गरेको उक्त अतिरिक्त ६ महिनाको अवधि पनि हिजो जेठ १९ गते समाप्त भएको छ, पार्टीले वैधानिकता गुमाएको छ ।’ उनले आफुले पटक–पटक भएका औपचारिक तथा अनौपचारिक बैठकमा दिएका सुझाव र सल्लाहलाई बेवास्ता गरिएको, वैधानिक निर्णय कार्यान्वयन नभएको र पुरानै प्रवृत्ति दोहोरिएको आरोप लगाएका छन् । पार्टी नेतृत्वको शैली आत्मकेन्द्रित र गैरजिम्मेवार भएको भन्दै राणाले पछिल्लो चुनावमा पार्टीको संगठनात्मक अवस्था कमजोर भएको, वैचारिक आधार प्रभावित भएको र जनसमर्थन घटेको दाबी गरेका छन् । उनले पार्टीभित्र विश्वासको संकट गहिरिँदा लक्ष्य हासिल गर्ने बाटो कमजोर हुने भन्दै सबै राष्ट्रवादी शक्ति, समूह र अभियानलाई एकताबद्ध भएर नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्न आग्रह गरेका छन् ।

३- नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको छ । बुधबार भारतको गोवामा सम्पन्न सेमिफाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा नेपाल र बंगलादेश १-१ गोलको बराबरीमा रोकिएका थिए भने बंगलादेशले दोस्रो हाफको अन्त्यमा गोल गर्दै जित हासिल गरेको छ । नेपाली महिला टिमले खेलको २३औं मिनेटमा गीता रानाको गोलमा बंगलादेशविरुद्ध १-० को अग्रता लिएको भएपनि बंगलादेशले खेलमा पहलो हाफको इन्जुरी समयमा गोल गर्दै बराबरी गरेको थियो । अब बंगलादेशले उपाधिका लागि भारत र भुटानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । नेपाल यसअघि २०२२ र २०२४ को साफ महिला च्याम्पियनसिप फाइनलमा बंगलादेशसँग नै पराजित हुदै उपविजेता बनेको थियो ।
४- नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ को पूर्वतयारीका लागि जर्सीसँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले जर्सीमा विशेष प्रशिक्षण क्याम्पमा भाग लिदै जर्सीको राष्ट्रिय टिमसँग दुई एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ । नेपाल र जर्सी बीचको पहिलो खेल जुलाई १३ र दोस्रो खेल जुलाई १५ मा खेलिने क्यानले जानकारी दिएको छ । नेपालले जुलाईमा नेदरल्याण्ड्समा हुने नेपाल, नेदरल्याण्ड्स र नामिबिया सम्मिलित लिग- २ को सिरिज खेल्दैछ । नेपालले लिग- २ मा हालसम्म २८ खेलमा २४ अंक हासिल गर्दै पाँचौ स्थानमा रहेको छ ।

५- लुम्बिनी प्रदेश सरकारक एमालेबाट मन्त्री रहेका चार जनाले सामुहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । सरकार पुनर्गठन गर्न एमालेले आफ्ना मन्त्रीलाई राजीनामा गराएको बताइएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान लिएका बेला एमालेले मन्त्रीहरुको राजीनामा गराएको छ । एमालेबाट सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा दिएका छन् ।
६- ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम रेजाको दरगाह परिसर नजिकै दफन गरिने तयारी गरिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोरका अनुसार उनको अन्तिम बिदाइ २१ जुनतिर हुन सक्ने बताइएको छ । २८ फेब्रुअरीमा तेहरानस्थित निवासमा भएको अमेरिका–इजरायलको हवाई आक्रमणमा उनको मृत्यु भएको थियो । पहिले उनको राजकीय अन्त्येष्टि ४ मार्चमै गर्ने योजना थियो तर युद्धका कारण स्थगित गरिएको थियो। अब तेहरान, कुम र मशहदमा हुने अन्त्येष्टि कार्यक्रममा करिब २ करोड मानिस सहभागी हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन्। जनताका लागि तीन दिनसम्म अन्तिम श्रद्धाञ्जली दिने व्यवस्था मिलाइएको छ । मुख्य अन्त्येष्टि समारोह तेहरानमै हुने बताइएको छ, जुन कम्तीमा २४ घण्टा चल्न सक्ने अनुमान छ । त्यसपछि पार्थिव शरीरलाई धार्मिक शहर कुम हुँदै मशहद पुर्याइनेछ। त्यस क्रममा सडकमार्गबाट जनताले अन्तिम दर्शन गर्न सक्ने व्यवस्था पनि मिलाइने भनिएको छ । तेहरान नगर निगमका एक अधिकारीका अनुसार यात्राको क्रममा कुम र मशहदमा पनि विशेष कार्यक्रम हुनेछन् । यसको सम्पूर्ण जिम्मेवारी इस्लामिक रिभोलुसनरी गार्ड कोरले लिएको बताइएको छ । विश्लेषकहरूका अनुसार यदि २ करोड मानिस सहभागी भए यो सन् १९८९ मा इस्लामिक गणतन्त्रका संस्थापक आयातुल्ला रुहोल्लाह खोमेनीको अन्त्येष्टिभन्दा ठूलो हुनेछ। त्यतिबेला करिब १ करोड मानिस सहभागी भएका थिए । त्यो समयमा भीड अत्यधिक हुँदा भागदौड मच्चिएको थियो, जसमा कम्तीमा ८ जनाको मृत्यु र हजारौं घाइते भएका थिए। यस पटक पनि अधिकारीहरू ठूलो भीड व्यवस्थापन गर्न र दुर्घटना रोक्न तयारीमा जुटेका छन् । इस्लामिक परम्परामा सामान्यतया मृत्यु भएको एक–दुई दिनमै अन्त्येष्टि गरिन्छ। तर यस पटक युद्धको अवस्था र ठूलो भीड व्यवस्थापनको कारण ढिलाइ भएको अधिकारीहरूको भनाइ छ । मशहद ईरानको प्रमुख धार्मिक शहर हो । यहाँ इमाम रेजाको दरगाह रहेको छ, जसलाई शिया मुसलमानहरू अत्यन्त पवित्र स्थल मान्छन् । इमाम रेजा शिया परम्पराका आठौँ इमाम मानिन्छन्। उनको दरगाह संसारकै ठूलो धार्मिक स्थलमध्ये एक हो, जहाँ हरेक वर्ष करोडौँ श्रद्धालु पुग्छन् । त्यही कारण खामेनेईलाई त्यहीँ दफन गर्दा उनको नाम शिया परम्पराका अत्यन्त सम्मानित धार्मिक व्यक्तित्वसँग जोडिने बताइन्छ । गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले ईरानका विभिन्न रणनीतिक क्षेत्रमा ठूलो सैन्य कारबाही गरेका थिए। तेहरानसहित धेरै ठाउँमा हवाई आक्रमण भएको थियो । त्यही क्रममा सर्वोच्च नेताको निवास र कार्यालय पनि निशाना बनाइएको दाबी गरिएको छ। आक्रमणका बेला उनी बंकरमा रहेका भए पनि गम्भीर रूपमा घाइते भई पछि मृत्यु भएको बताइएको छ । त्यस आक्रमणमा उनीसँगै धेरै वरिष्ठ सैन्य अधिकारी, सुरक्षा निकायका प्रमुख र अन्य उच्च अधिकारीहरूको पनि मृत्यु भएको दाबी गरिएको छ। परमाणु कार्यक्रमसँग सम्बन्धित केही वैज्ञानिकको पनि ज्यान गएको थियो ।

७- सशस्त्र प्रहरी बलका असई र एक युवती काभ्रेको पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बल १५ नम्बर हेड क्वार्टर, पाँचखालमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा रहेको मौवाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनीहरु एक महिनादेखि सम्पर्कविहिन थिए । प्रहरीका अनुसार शक्ति राम वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा घरबाट निस्किएका थिए । यस्तै शर्मिला चौधरी वैशाख १८ गते काभ्रेपलाञ्चोकमा रहेका शक्ति रामलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । त्यसपछि दुवै जना सम्पर्कविहीन भएका थिए । परिवारले खोजतलासका लागि दिएको निवेदनपछि उनीहरुको खोजी शुरु भएको थियो ।
८- नेपाल उद्योग परिसंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सकारात्मक भन्दै यसको प्रभावकारी कार्यान्वयनले अर्थतन्त्रलाई नयाँ दिशा दिन सक्ने विश्वास व्यक्त गरेको छ । परिसंघले उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थबीच भन्सारमा एक तहको अन्तर कायम गर्न २७३ वस्तुको भन्सार दर घटाउने तथा ३६० वस्तुमा अन्तःशुल्क खारेज गर्ने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन र औद्योगिकीकरणलाई गति दिन सहयोग पुग्ने जनाएको छ । उत्पादनमूलक उद्योगका लागि विद्युत् माग शुल्क पुनरावलोकन, महसुलमा छुट, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रमा बनेका संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न पाउने व्यवस्थाले उद्योग विस्तारमा सहयोग पुग्ने परिसंघको धारणा छ । स्वचालित रूपमा मूल्य अभिवृद्धि कर फिर्ता हुने, विवादित करमा थप १ प्रतिशत बुझाएपछि मुद्दा फिर्ता हुने तथा ब्याज र जरिवाना नलाग्ने व्यवस्थालाई परिसंघले व्यवहारिक र उद्योगी व्यवसायीलाई राहत दिने कदमका रूपमा स्वागत गरेको छ । बजेटमा कृषि प्रशोधन, पर्यटन सेवा र श्रमप्रधान उद्योगको विकासका लागि रोजगार आबद्ध उत्पादन क्षेत्र सञ्चालन गर्ने, लगानी प्रवर्द्धनका लागि कानुनी तथा नीतिगत सुधार गर्ने, उधारो असुलीसम्बन्धी कानुन ल्याउने तथा विभिन्न ऐन, नियम र कार्यविधिमा संशोधन गर्ने विषयलाई पनि परिसंघले सकारात्मक मानेको छ । उच्च मूल्यका पर्यटक लक्षित होटल तथा विश्रामस्थललाई प्रोत्साहन, आरोग्य पर्यटनको प्रवर्द्धन, ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा प्रशोधनको व्यवस्थित व्यवस्थाले पनि अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने बताइएको छ। यद्यपि गुणस्तर प्रवर्द्धन तथा गुणस्तरीय वस्तु आयातसम्बन्धी विषय बजेटमा समावेश नभएको भन्दै परिसंघले त्यसतर्फ ध्यानाकर्षण गराएको छ। उत्पादनमूलक उद्योगलाई आवश्यक जग्गामा हदबन्दी नलाग्ने व्यवस्था र उद्योग तथा सरकारबीचको भुक्तानी तथा फिर्ता रकम समायोजन गर्न पाउने व्यवस्था पनि बजेटमा छुटेको परिसंघको भनाइ छ। परिसंघले बजेटले लक्ष्य लिएको ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न, लगानी प्रवर्द्धन गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।
९- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार १६५ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, हाइड्रो, लगानी, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने एसबीएल डिभेन्चरको शेयर १४.९३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको शेयर ५.१८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४४ करोड २३ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २१ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

१०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु र रमेश लेखक जस्ता पुराना नेतालाई फसाउन सरकारले सम्पत्ति छानबिन आयोग बनाएको आरोप लगाएका हुन् । एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई तत्कालीन राजा ज्ञानेन्द्रले बनाएको आयोग जस्तो भएको टिप्पणी गर्दै केपी ओली र रमेश लेखकलाई वा पुराना पार्टीका मान्छेलाई फसाउन बनाइएको आरोप लगाएका हुन् । उनले भने- ‘सरकारले बनाएको सम्पत्ति छानबिन आयोग तत्कालीन राजा ज्ञानेन्द्रले बनाएको आयोग जस्तो हो । सरकारका संवैधानिक आयोगहरू छँदैछन् । आयोगले नयाँ दल, सेनालाई छानबिन नगर्ने ? केपी ओली र रमेश लेखकलाई वा पुराना पार्टीका मान्छेलाई फसाउन बनाइएको हो । यस्तो आयोगलाई म मान्यता दिन्नँ । म सम्पत्ति विवरण लेखेर पठाउँदिनँ । आगो लगाएर खरानी बनाएको घरबाट मैले खरानी भर्ने ?’ सरकारले ०६२ देखि हालसम्मका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न एक बर्षको समय दिएर वैशाख पहिलो साता सर्वोच्चका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वतमा सम्पत्ति जाँचबुझ आयोग गठन गरेको थियो । आयोगका सदस्यहरूमा पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली र उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) गणेश केसी र नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्वअध्यक्ष प्रकाश लम्साल छन् ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका लामिछानेले बुधबार मोदीसँग भेटवार्ता गरेका हुन् । लामिछानेसँग भेट गरेपछि प्रधानमन्त्री मोदीले भेटमा साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने चाहनालाई स्वागत गर्दै सो धारणालाई पूर्ण रूपमा समर्थन गरेको उल्लेख गरेका छन् । मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार राष्ट्र भएको उल्लेख गर्दै नेपालको नयाँ सरकारसँग मिलेर दुवै देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन सहकार्य गर्न उत्साहित रहेको बताएका छन् । लामिछानेले यसअघि मंगलबार भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

१२- ईरानले गरेको ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै व्यक्ति घाइते भएका छन् । कुवेतको सरकारी समाचार संस्थाका अनुसार आक्रमणपछि विमानस्थलका उडानहरू तत्काल रोकिएका छन् भने केही उडानलाई अन्य विमानस्थलतर्फ मोडिएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै सार्वजनिक गरिएको विवरणमा आक्रमण अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ भवनलाई लक्षित गरी गरिएको जनाइएको छ । त्यसपछि सुरक्षा कारणले उडानहरू अन्य विमानस्थलमा पठाइएको बताइएको छ । सरकारी समाचार संस्थाले नागरिकहरूलाई पनि सावधानी अपनाउन आग्रह गरेको छ । क्षेप्यास्त्र आक्रमण रोक्न गरिएको प्रतिकारात्मक कारबाहीका क्रममा आकाशबाट खस्न सक्ने भग्नावशेषबाट सतर्क रहन चेतावनी दिइएको छ ।
१३- विपक्षी दलका सांसदहरुको विरोधका कारण राष्ट्रियसभा बैठक जेठ २६ गते मंगलबारसम्मका लागि स्थगित भएको छ । बुधबार बैठक सुरु हुनासाथ सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक जेठ २६ गतेसम्मका लागि स्थगित भएको हो । बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री स्वयं उपस्थित भएर संसदमा दिएको सीमा बारेको अभिव्यक्ति फिर्ता लिदै माफी माग्नुपर्ने माग गरेका थिए । सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् ।
१४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका छन् । एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले राज्य र राज्य संयन्त्रमा बस्नेहरुलाई समय र परिस्थिति सधैं एकनासको नरहने बताउँदै उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका हुन् । उनले भने- ‘राज्य संयन्त्र र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय परिस्थिति सधै एकैनासको रहदैन उत्ताउलिएर धेरै अगाडी नबढनु होला, राणा शासन ढले, पंचायती तानाशाही ढले, राजतन्त्र ढले, अनेकतन्त्रहरु गए, यो अराजकतन्त्र कति दिनको पाहुना हो ? यो लामो समय चल्न सक्दैन ।’ ओलीले राज्यलाई कतिपय कुरा मन नपरेपनि मन पर्नु नपर्नु बेग्लै कुरा भएको तर सत्य आफ्नो ठाउमा हुने बताए । उनले भदौ २३–२४ गतेको राष्ट्रयव्यापी आगजनी केहि होइन जस्तो गरेर पचाउने खोजिएको आरोप समेत लगाए ।
१५- ईरानको केश्म टापु झण्डै १ हजार ४४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खाडी क्षेत्रको सबैभन्दा ठूलो टापु हो । एक समय यो टापु स्वतन्त्र व्यापार क्षेत्र र पर्यटकीय स्थलका रूपमा चिनिन्थ्यो, तर अहिले यो ठूलो सैन्य आधारमा रूपान्तरण भएको छ । होर्मुज जलडमरूको प्रवेश बिन्दुमा रहेको यो टापु रणनीतिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ । अमेरिकाले यसलाई विभिन्न कारणले ठूलो सैन्य खतरा मान्दै आएको छ । विभिन्न विवरणअनुसार केश्म टापु मुनि सुरुङ र नुनका गुफाहरूको ठूलो सञ्जाल छ । त्यहाँ ईरानले तटीय क्षेप्यास्त्र प्रणाली र छिटो आक्रमण गर्न सकिने साना नौसैनिक डुङ्गाहरू लुकाएर राखेको बताइन्छ । टापुमा ईरानले यस्ता सैन्य संरचना बनाएको छ जसको उद्देश्य समुद्री मार्गमा नियन्त्रण कायम गर्नु हो । यहाँबाट होर्मुज जलडमरूमार्फत हुने जहाज आवतजावतलाई रोक्न वा सीमित गर्न सकिने अनुमान गरिन्छ । होर्मुज जलडमरू विश्वकै सबैभन्दा महत्वपूर्ण तेल र ग्यास ढुवानी मार्गमध्ये एक हो। अमेरिकाका अनुसार ईरानले केश्म टापुलाई तेल बोकेका ट्याङ्करहरूको आवतजावतमा दबाब सिर्जना गर्न वा अवरोध गर्न प्रयोग गर्दै आएको छ । त्यस्तै पछिल्ला महिनाहरूमा यो टापु अमेरिका र ईरानबीचको सैन्य तनावको प्रमुख केन्द्र बनेको छ । यसअघि ईरानतर्फबाट क्षेत्रीय अमेरिकी सैन्य संरचनामाथि कारबाही भएपछि अमेरिकाले केश्म टापुमा रहेको इस्लामिक क्रान्तिकारी गार्ड कोरका संरचना र सञ्चार प्रणालीमाथि आक्रमण गरेको बताइएको छ ।
१६- नेपाली बजारमा आज सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुनलप मुल्य सोहि मुल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ५३७० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५४०५ मा कारोबार भएको थियो ।

१७- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको छ । समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका संचालकहरुले सहकारीको बचत रकम वा सम्पत्ती हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका संचालकहरुले सम्वन्धित सहकारी संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ती र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ । अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ । यस्तै समितिले सार्वजनिक विवरणमा फरक पर्न गएको वा अध्यावधिक नभएको भएमा समितिको कार्यालयमा सम्पर्क गर्न समेत भनेको छ ।
१८- नेपालले मलेसियामा आजदेखि शुरु भएको एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा आज कतारलाई ८ विकेटले पराजित गरेको हो । कतारले दिएको ७७ रनको लक्ष्य पछाएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा विन्दु रावलले ३३ र पुजा महतोले अविजित २८ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गर्दा कतारले १६.५ ओभरमा अल आउट हुदै ७६ रन मात्र बनाएको थियो । कतारका लागि गेट्रुडो चन्दिरुले २५ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रुबिना क्षेत्रीले ३ विकेट लिएकी थिइन् । नेपालले यस प्रतियोगितामा अब अर्को खेल जुन ४ मा भुटानसँग, र जुन ६ मा हङकङसँग खेल्ने तालिका रहेको छ । १८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् । एसीसी प्रिमियर कपमा समुह ए मा थाइल्याण्ड, म्यान्मार, जापान, बहराइन र मंगोलिया रहेका छन् । त्यस्तै समुह बी मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरेबिया छन् भने समुह सी मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन् । त्यस्तै समुह डी मा नेपाल, हङकङ चाइना, भुटान र कतार रहेका छन् ।

१९- अस्ट्रेलियाले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा कमब्याक गरेको छ । पाकिस्तान टूरमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा हार बेहोरेपनि दोस्रो खेलमा ४१ रनको जित हासिल गर्दै सिरिजमा कमब्याक गरेको हो । अस्ट्रेलियाले दिएको २३२ रनको लक्ष्य पछाएको पाकिस्तान ४४ ओभरमा १९० रन बनाउदा अलआउट भएको थियो ।पाकिस्तानका लागि शदाब खानले सर्बाधिक ७१ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर नाथन इलिसले सर्बाधिक ४ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २३१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सर्बाधिक ५३ रन बनाएका थिए । त्यस्तै पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले सर्बाधिक ३ विकेट लिएका थिए । यो जितपछि ३ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यसअघि पहिलो खेल पाकिस्तानले ५ विकेटले जितेको थियो । अब सिरिजको अन्तिम खेल विहिबार हुने तालिका छ ।
२०- काठमाडौँ विश्वविद्यालयको १०१ औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन् । समितिको सदस्यमा रेशु अर्याल ढुंगाना र प्रा डा सुरेशराज शर्मा रहेका छन् । ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य हुन् भने शर्मा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ । यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । काठमाडौँ विश्वविद्यालयले शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको भावी शैक्षिक तथा संस्थागत विकासको दिशाबारे थप अपेक्षा गरिएको छ ।



