पूर्व राजाका पुत्र पारस र वर्तमान प्रचण्डका पुत्र प्रकाशबीच कुनै भिन्नता नभएको मजदुर किसानका नारायणमान बिजुक्छेको व्याख्या

– रोशन शिल्पकार

 

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पूर्व राजाका पुत्र पारस र वर्तमान प्रचण्डका पुत्र प्रकाशबीच कुनै भिन्नता नभएको बताएका छन्। उनले ठूला पार्टीका नेता र कार्यकर्ता पैसामा बिक्ने गरेका आरोप पनि लगाए।

 

प्रचण्ड पुत्रलाई सगरमाथा चढ्नका लागि भन्दै मन्त्रिपरिषद्‍बाट २ करोड रुपियाँ दिने निर्णयलाई उनले लोकलाज पचाएर विगतकै शासन प्रणालीलाई निरन्तरता दिने कार्य भएको बताए। ठूला पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न स्थानमा धम्काएर पैसा लिने गरेको चर्चा गर्दै बिजुक्छेले ठूला पार्टीका नेता तथा कार्यकर्ता पैसामा बिक्ने गरेका आरोप पनि लगाए।

उनले जेठ १४ मा संविधान जारी हुन नसक्ने दाबी पनि गरेका छन्। उनले सत्तासीन नेताहरुमा सामन्तवादी सोच रहेकाले पनि समस्या आएको बताए।

रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले संविधान जारी भइहाले पनि त्यो नेपालीको हितमा नहुने बताए। ठूला राजनीतिक दलहरुको क्रियाकलाप हेर्दा संविधान जारी हुन सक्ने सम्भावना नभएको भन्दै बिजुक्छेले भने- जेठ १४ मा संविधान जारी हुने भए यो समयमा संविधानको मस्यौदा जारी गरी सुझाव सङ्कलनका लागि गाउँगाउँ जानुपर्थ्यो। समयमा संविधान जारी नभए त्यसको दोष ६०१ सभासद्लाई नजाने भन्दै उनले त्यसको सम्पूर्ण जिम्मेवारी शासक दलहरुले नै लिनुपर्ने पनि बताए।

संविधान जारी नभए के हुन्छ भने सञ्चारकर्मीको प्रश्नमा उनले सर्वोच्च अदालतले समय थप गर्न नमिल्ने आदेश दिए तापनि त्यस बेलाको परिस्थितिमा देशमा संविधान सभा भङ्ग गरी कमजोर शासनलाई विदेशीको हातमा दिने वा आफैं सक्षम भई मुलुक अगाडि बढाउने भन्ने विषयमा दलहरु अहिले नै सचेत हुनुपर्ने औल्याए।

स्थानीय निकायको निर्वाचन नभएका कारण राजनीतिक भ्रष्टाचार केन्द्रीकृत हुँदै गएका कारण झन् समस्या बढ्दै गएको भनाई पनि उनको थियो।