काठमाडौं – नेपाल चिकित्सक सङघले मदिरामा मात्तिएर वीर अस्पताल पुगी चिकित्सक र पत्रकारलाई दुर्व्यवहार गर्ने स्वास्थ्य राज्य मन्त्री सरोजकुमार यादवलाई कारबाही गर्न माग गरेको छ। कारबाही नगरे अप्रिय कदम उठाउन बाध्य हुने चेतावनी पनि चिकित्सकले दिएका छन्।
स्वास्थ्य मन्त्रालयअन्तर्गतकै जेठो र केन्द्रीय अस्पतालमा राज्य मन्त्री जस्तो पदमा बसेका व्यक्तिबाट यस्तो प्रकारको गाली गलौज, दुर्व्यवहार र अपशब्द प्रयोग हुनुले चिकित्सक सङ्घ गम्भीर भएको उल्लेख गर्दै भर्त्सना पनि गरेको छ।
यो घटनाले अस्पतालको सौहार्द्धपूर्ण वातावरण बिथोलिनुका साथै चिकित्सकको मनोबलसमेत गिराएको उसले जनाएको छ। सङ्घद्वारा जारी विज्ञप्तिमा दोषीलाई कारबाही गर्न तथा कानुनी राजको अनुभूति दिलाउन पनि जोडदार माग गरिएको छ। – नागरिक